जाजरकोट बारेकोट स्वर्गको अनुभव तर छैन राज्यको चासो
जाजरकोट – यो तपाई देखेका सुन्दर मन बहकाउने लोभ्याउने तस्विर कर्णाली प्रदेश अन्तर्गत पर्ने जाजरकोट बारेकोटको उत्तरी सिमानामा अवस्थित साईकुवारी ठाकुरजी हो।
यो क्षेत्र धार्मिक हिसाबले पवित्र र पर्यटकीय हिसाबले निकै संभावना बोकेको गन्तव्य हो । समुद्री सतहबाट अधिकतम ५ हजार मीटर उचाइमा रहेको ठाकुरजी पाटन क्षेत्रमा दर्जन बढी साना ठुला ताल तलैयाहरु रहेका छन् ।
यहाँबाट अवलोकन गर्नसकिने कराईचुली हिमाल, कान्जिरोवा हिमाल तथा अन्य सुन्दर घाँसे मैदान, पठारहरुले यहाँ पुग्ने जो कोहीको मनलाई निकै रोमान्चक र उद्वेलित बनाईदिन्छ ।
यहाँ फुल्ने रङ्गी विरङ्गी फुलहरु,पाटनमा चरण चर्दै गरेका घोडा, भेडा, गाइ ,भैंसी लगायतका चौपायाको दृश्यले स्वर्गको आभाष दिलाउने गर्दछ । उक्त क्षेत्रमा पाईने अमुल्य जडिबुटी, लेकाली वनस्पतिको वास्नाले मान्छेको आधा रोग त्यत्तिकै सन्चो बनाउँछ ।विश्वकै लोपोन्मुख रेडपान्डा, हिमाली गिद्ध, चीर काली, डाँफे, कस्तुरी लगायतका पशुपन्छि यहाँका अमुल्य सम्पती हुन् ।
यस क्षेत्रको तीव्र प्रचार र प्रसार गरी सम्बन्धित सरोकारवाला निकायले यहाँ आवश्यक पुर्वाधारहरु जस्तै: पदमार्ग, वास बस्ने घर, मन्दिर, आवश्यक स्थानमा सिढी, होमस्टे तालिम, पर्यटकका लागि नक्सा (डिजिटल) उचाई र दुरी संकेत आदि कार्यहरु तत्काल गर्नुपर्ने स्थानीयको माग छ ।
यहाँको पर्यटकिय संभावनाले बारेकोट मात्रै होईन समग्रमा जाजरकोटकै कुल ग्राहस्थ उत्पादनको ग्राफलाई माथि उठाउन सकिनेमा दुई मत छैन स्थानीय सुरेन्द्र सुमनले रंग दर्पणलाई बताए ।
कमजोर र निकम्मा जिल्लाको राजनीतिक नेतृत्वले आफ्ना कार्यकर्तामुखी कार्यक्रमहरु ल्याएर राज्यको ढुकुटी सकिरहेको र पर्यटन क्षेत्रमा पर्याप्त लगानी गरि जाजरकोटको नयाँ पहिचानलाई स्थापित गर्न नसक्नु जिल्लाबाट राज्यको नेतृत्व गर्नेहरुको कमजोरी रहेको महसुस भएको छ।
यहाँसम्म पुग्नका लागि सबैभन्दा उत्तम सिजन जेठ पहिलो साता देखि असोज मसान्तसम्म मानिन्छ । यहाँ पुग्नका लागि समय र रुट यस्तो रहेको छ ।
खलंगा-दह (बाईकमा ४ घन्टा,
दह-भेडीगोठ देउराली ८ देखि १२ घन्टा पैदल) अथवा दहबाट लाग्नासम्म पनि बस्न सकिन्छ (दहदेखि लाग्ना ३ देखि ४ घन्टा,
लाग्ना- भेडीगोठ ४ देखि ६ घन्टा,
भेडिगोठ- शङ्ख दह १ घन्टा,
शङ्ख दह- साईकुवारी ठाकुरजी २ घन्टा,
ठाकुरजी- भेडीगोठ ३ घन्टा
भेडीगोठ- देखि दह ८ घन्टा,
दह – खलङ्गा ४ घन्टा,
सबै तस्बिर: सुरेन्द्र सुमनबाट साभार