पूर्वमन्त्री न्यौपाने सहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर ,

माघ २१,काठमाडौं – पूर्वमन्त्री वद्रीप्रसाद न्यौपानेविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ । तत्कालीन महिला, बालवालिका तथा समाज कल्याणमन्त्री एवं समाज कल्याण परिषद्का तत्कालिन अध्यक्ष समेत रहका न्यौपानेमाथि भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा ३१ करोड ५२ लाख १७ हजार ६७५ रुपैयाँ २० पैसा भ्रष्टाचार गरेको दाबी अख्तियारले गरेको छ । न्यौपानेसहित परिषदका १४ जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।

परिषद्का उपाध्यक्ष प्रमोद महेता, कोषाध्यक्ष कुञ्ज विहारी, सदस्यहरू रविन्द्र कुमार यादव, मोहनराज शर्मा, मदन कुमार लाल कर्ण, हरि न्यौपाने, कुमार यादव, फर्न पार्क सञ्चालक रविन्द्र गुरुङ र भृकुटी मण्डप मेला सञ्चालक टेक बहादुर गुरुङसहित आठ जनालाई भ्रष्टाचार बापतको ३१ करोड ५२ लाख १७ हजार ६ सय रूपैयाँ विगो दावी गरिएको छ ।

परिषद पदाधिकारीका रुपमा उनीहरु २०६८ सालमा नियुक्त भएका थिए ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा मुद्दा दायर गरेको हो ।तत्कालीन मन्त्री न्यौपाने र उपाध्यक्ष मेहताको मिलेमतोमा २०६९ साल भदौ रविन्द्र गुरुङलाई मासिक ५ लाख ५५ हजारमा १५ वर्षका लागि फनपार्क मेला सञ्चालन गर्न अनुमति दिइएको थियो ।