surkhet

राष्ट्रिय ध्वजावाहकबाटै जापान, साउदी अरेबिया र कोरिया

surkhet

१० माघ, काठमाडौं । नेपाल वायुसेवा निगमले नयाँ जहाज ल्याएसँगै जापानको ओसाका, दक्षिणकोरियाको सोल र साउदी अरेबियाको रियादमा उडान विस्तारको योजना तयार पारेको छ ।

त्यसका लागि निगमले ‘अपरेसन परमिट’को प्रक्रियासमेत अगाडि बढाएको छ ।

दुई वटा वाइडबडी विमान काठमाडौं अवतरण गरेसँगै ती गन्तव्यमा उडान थप्ने निगमको व्यापारिक योजना छ । निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले भने, ‘नयाँ विमान आउनासाथ जापान, कोरिया र साउदी अरेबियामा सातामा ३/३ उडान गर्ने योजना बनेको छ ।’

Dailekh

यात्रुको चाप हेरेर उडान थप्न सकिने उनको भनाइ छ ।

केही समयपछि अस्ट्रेलियामा पनि उडान थाल्ने योजना निगमको छ । तर, अस्ट्रेलिया र नेपाल सरकारबीच हवाई सेवा सम्झौता नभएकाले प्रक्रिया रोकिएको छ ।

सम्झौता भएका देशहरुसँग मात्र अपरेसन परमिट माग्न मिल्छ । ३८ वटा राष्ट्रसँग मात्र नेपालको हवाई सेवा सम्झौता भएको छ ।

असारसम्ममा वाइडबडी

श्रेष्ठका अनुसार आगामी असारसम्ममा दुवै वाइडबडी विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसक्ने छन् । एक साताको फरकमा दुवै विमान ल्याइसक्ने तालिका तय भएको छ ।

Gorkha

अमेरिकी कम्पनी एएआरले निगमलाई एयरबसबाट उत्पादित विमान उपलब्ध गराउन लागेको हो ।

अस्ट्रेलियासँग हवाई सेवा सम्झौता नहुँदा रोकियो ‘अपरेसन परमिट’को प्रक्रिया

दुवैको मूल्य दुई सय नौ दशमलव ६ मिलियन अमेरिकी डलर अर्थात् २१ अर्ब ९० करोड रुपैयाँ परेको छ । हालसम्म १० अर्ब रुपैयाँ निगमले पठाइसकेको छ । ११ अर्ब ९० करोड रुपैयाँ विमान डेलिभरी हुने केही दिनअघि मात्र पठाउने निगमको तयारी छ ।

खरिद गर्न लागिएका विमान फ्रान्सको टुलुज शहरमा छन् । दुवैमा दुई सय ८० सिट हुनेछन् । र, बिजनेस क्लासका १६ वटा सिट राखिनेछ ।

निगमले खरिद गर्न लागेका विमान अन्तर्राष्ट्रिय बजार मूल्यभन्दा सस्तो परेका छन् । खासमा, पोर्चुगलको एभिएसन कम्पनी ‘हाइ फ्लाइ’ले ती विमान एयरबससँग अर्डर गरेको थियो । तर, कम्पनी ऋणमा डुबेपछि खरिद गर्न नसक्ने भयो ।

सोही कारण एएआरले सकारेर दुवै विमान निगमलाई बिक्री गरेको हो ।

निगममा अहिले पनि विमान अभावको समस्या छ । दुई वटा न्यारोबडी एयरबस आएपछि अन्तर्राष्ट्रिय उडानमा चार वटा विमान भएका थिए ।

तर, एउटा बोइङ–७७७ लिलामी भइसकेको छ । एउटा एयरबसको इन्जिनमा खराबी आएपछि नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको छ । अहिले एउटा बोइङ–७५७ र एउटा एयरबसबाट मात्र अन्तर्राष्ट्रिय उडान गर्नुपर्ने बाध्यतामा छ, निगम ।

 

salyan