काठमाडौं उपत्यकामा संक्रमित १ लाखको नजिक
कार्तिक २५, काठमाडौं । काठमाडौं उपत्यका कोरोना भाइरस संक्रमणको दृष्टिले थप जोखिम बन्दै गएको छ । उपत्यकामा दिन प्रतिदिन संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । कोरोना भाइरस संक्रमितको संख्या उपत्यकामा ९० हजार नाघेको छ । हालसम्म काठमाडौं, ललितपुर र भक्तपुरमा गरी ९० हजार १ सय ५५ जनामा संक्रमण पुष्टि भएको छ । मुख्यतः बाक्लो बस्ती, भौतिक दुरी कायम नहुनु, कन्ट्याक्क्ट ट्रेसिङ पर्याप्त नहुनुलगायतका कारण जोखिम बढेको जनस्वास्थ्य विज्ञहरू बताउँछन् । जनस्वास्थ्य विज्ञ डा। रवीन्द्र पाण्डेले व्यक्ति व्यक्तिबीचको भौतिक दूरी कायम हुनै छाडेको बताए । उनले भने, ‘जोखिम झन् बढ्दै छ । तर, भौतिक दूरी कायम हुन सकेको छैन । किनबेचदेखि यात्रा गर्दा पनि हेलचेक्य्राई गरिएको देख्न सकिन्छ ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७३ हजार २०३, ललितपुरमा १० हजार ३५४ र भक्तपुरमा ६ हजार ५ सय ९८ संक्रमित भएका छन् । सोमबार काठमाडौं उपत्यकामा १ हजार ४ सय २८ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार देशभर २ हजार ५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ को इलाममा पाँच, उदयपुरमा १२, ओखलढुंगामा तीन, खोटाङमा दुई, झापामा ३३, तेह्रथुममा १, धनकुटामा ४, पाँचथरमा ५, भोजपुरमा २, मोरङमा १ सय ४८, संखुवासभामा तीन र सुनसरीमा ९१ जनामा कोरोना संक्रमण देखिएको छ ।
प्रदेश २ को धुनषामा १२, पर्सामा १०, बारामा तीन, महोत्तरीमा सात, रौतहटमा पाँच, सप्तरीमा नौ, सर्लाहीमा ६ र सिरहामा ११ जनामा कोरोना पाइएको छ । बाग्मती प्रदेशको काभ्रेमा ४७, चितवनमा २८, दोलखामा ४२, धादिङमा ५, नुवाकोटमा ८, मकवानपुरमा ४२, रसुवामा एक, रामेछापमा पाँच, ललितपुरमा २ सय एक, सिन्धुलीमा पाँच र सिन्धुपाल्चोकमा ९ जनामा कोरोना भेटिएको छ । गण्डकी प्रदेशको कास्कीमा १ सय ५१, गोरखामा १३, तनहुँमा १८, नवलपरासी पूर्वमा ११, पर्वतमा ३, म्याग्दीमा १, लमजुङमा २ र स्याङ्जामा १७ जनामा कोरोना पुष्टि भएको छ । लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा २९, गुल्मीमा ४, दाङमा ११, नलवपरासीमा नौ, पाल्पामा २४, प्यूठानमा २, बर्दियामा तीन, बाँकेमा आठ र रूपन्देहीमा ८५ जनामा कोरोना पाइएको छ ।
जुम्लाको तापक्रम माईनसमा झरेपछि दाउराको जोहो गर्दै
कर्णाली प्रदेशको जुम्लामा ५, दैलेखमा १३ र सुर्खेतमा ७ जनामा कोरोना पुष्टि भएको छ । सुदूरपश्चिमको अछाममा ९, कञ्चनपुरमा २५, कैलालीमा ६६, डडेल्धुरामा १५, डोटीमा १०, दार्चुलामा ११, बझाङमा १२, बाजुरामा १० र बैतडीमा नौ जनामा कोरोना भेटिएको छ । योसँगै संक्रमितको कुल संख्या १ लाख ९७ हजार २४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ७ सय ९८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ५९ हजार ७ सय २४ पुगेको छ । सोमबार देशभर १८ संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या १ हजार १ सय २६ पुगेको छ ।
देशभर ३६ हजार १ सय ७४ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आईसीयूमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ४ सय ९४ जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार ८३ जना भेन्टिलेटरमा र ४ सय ११ जना संक्रमित आईसीयूमा उपचाररत रहेका छन् ।
आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बाग्मती प्रदेशमा २ सय ४ जना आईसीयू र ५२ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५४ जना आईसीयू र ६ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४९ जना आईसीयू र १३ जना भेन्टिलेटरमा र प्रदेश २ मा आठ जना आईसीयू र दुई जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । यस्तै, सुदूरपश्चिममा १५ आईसीयू र एक जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ७२ आईसीयू र नौ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा नौ जना आईसीयू उपचाररत रहेका छन् ।