अब कित्ताकाटको निर्णय गर्दै बादलले गरे यस्तो निर्णय

२५ मंसिर,काठमाडौं – गृहमन्त्री रामबहादुर थापा बादलले हरेक मुद्दामा बालुवाटारलाई सहयोग गरेको निष्कर्ष निकाल्दै अब कित्ताकाट गर्नुपर्ने मत पूर्वमाओवादी पक्षमा बलियो बन्दै गएको छ ।

प्रधानमन्त्री केपी ओली गुटबाट आफ्नो भूमिका कटौती गरिइए पनि गृहमन्त्री बादलले कुनै प्रतिवाद नगर्नु र हरेक विषयमा सहयोग गर्नुलाई पूर्वमाओवादी पक्षका नेताले आश्चर्य मानेका छन् । गृह मन्त्रालयको सरुवा, बढुवा र दरबन्दीमा उपप्रधानमन्त्री ईश्वर पोखरेल हाबी भएका छन् । तर, यी सबैका बाबजुद पनि बादल चुपचाप छन् । त्यसैले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका नेताले अब बादलबाट कुनै आश नरहेको निष्कर्ष निकालेका छन् ।

बादल, देव गुरुङ, पम्फा भुसाल, हितमान शाक्य, कुलबहादुर केसीलगायतका नेता मोहन वैद्य किरणलाई छाडेर तत्कालीन एमाओवादीमा फर्केका थिए । त्यसपछि सबैभन्दा बढी अवसर प्रचण्डले बादललाई नै दिएका थिए । तर, नेकपा विवादमा बादलले प्रधानमन्त्री ओलीको साथ नछाडेपछि प्रचण्ड असन्तुष्ट भएका छन् । बादलसँगै आएका पम्फा भुसाल, देव गुरुङलगायतका नेताले प्रचण्डलाई साथ दिँदै अब बादललाई विश्वास गर्नुपर्ने अवस्था नरहेको भन्दै कित्ताकाट गर्न सुझाएका हुन् ।

बादलले अन्तिम समयमा आफूलाई सहयोग र साथ दिने प्रचण्डको आशा थियो । तर, गत शनिबारको सचिवालय बैठकमा उनले ओलीलाई सहयोग पुग्ने गरी कार्यदल गठन गर्न प्रस्ताव गरेका थिए । त्यसैले अब बादललाई बोक्न नहुने निष्कर्षमा खुमलटार पुगेको हो ।