“स्वार्थ केन्द्रित टुटफुटको पुलिन्दा बन्दै कम्युनिष्ट पार्टी “

मङ्सिर २९ ,काठमान्डौ – नेपाली राजनीति चरम अकर्मण्यताको भुमरीमा फस्दै आइरहेको छ।यहाँ पार्टी फुट्नु र जुट्नु राजनीतिको नियमित चल्ने संस्कार जस्तै बनेको छ।लोकतन्त्रवादी पार्टीहरु हुन् या क्रान्तिकारी कम्युनिष्ट पार्टी नै किन नहोस् सिङ्गो रहन सकेनन ।
पार्टी नफुट्दा पनि आन्तरिक गुट-उपगुटले पार्टी लाई थिलोथिलो र मृत जस्तै बनाएको हुन्छ ।जसको ज्वलन्त उदाहरण अहिलेको सत्ताधारी नेकपा लिन सकिन्छ।पार्टी फुट्नु , पार्टी भित्र भद्दा गुटउपगुट निर्माण हुनुको प्रमुख कारण सत्ता बनेको छ।
सत्तामा पुगेपछि सरकारी साधनस्रोत को दुरुपयोग गरि पार्टी लाई मृत हुने गरि सबै कब्जा गर्ने प्रवृत्ति वर्तमान प्रधानमन्त्रीले पुस्टि जस्तै गरिदिएका छन।जसले गर्दा वर्तमान सत्ताधारी नेकपा फुटको चरम उत्कर्स मा पुगेको आकलन सामान्य मान्छेले पनि गर्न थालेका छन।

कम्युनिष्ट पार्टीका जुझारु भनिने क्रान्तिकारीहरु पनि सिद्धान्तको जलप लगाउदै स्वार्थ केन्द्रित विभाजनका अनगिन्ती चिराहरु बने।महान १० वर्षे जनयुद्धमा एउटै थालमा खाएका संगै सुतेका क्रान्तिकारी कमरेडहरु पनि सत्ता र शक्ति स्वार्थ कै कारणले २०६९ मा विभाजनको सिकार हुन पुगे।
२०५४ सालमा सत्ताको संवाद संगै तत्कालीन एमाले नेता वामदेव गौतम उग्र भएर पार्टी विभाजन गरे।२०५९ मा सत्तारुढ भएकै बेला दरबारको आडमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसलाई विभाजनमा होमे।
शान्ति प्रक्रिया पछि उदाएका मधेसवादी पार्टीहरु सत्ताकै लागि थुप्रै शृङ्खलामा विभाजित भए र सत्ताभोग गरे।पार्टी फुटसंगै हरेक दलले ठक्कर खाएका इतिहास साक्षी छन।पार्टीको विभाजन संगै मुलुक अस्थिरता र संक्रमणको भुमरीमा फसेका थुप्रै उदाहरणहरु छन।अझै राजनीतिक पार्टीहरुमा चेतना पलाएको देखिदैन ।
दलिय द्वन्द र विभाजनको कारण मुलुकले संकटको मार खेप्नुपरिरहेको छ।राजनीतिक पद्धति र संस्कार स्थापित हुन नसक्दा गणतन्त्रको जग नै धरापमा पर्दैछ कि जस्तो अनुमान लगाउन नि सकिन्छ।
अहिलेको नेकपा सरकार को रबैया सिद्धान्त , त्याग , आदर्श स्थापित गरि समृद्ध नेपाल बनाउनु को सट्टा ब्यक्तिगत र गुटगत स्वार्थमा केन्द्रीकृत भएको देखिन्छ।सरकार संचालन प्रक्रियामा सहमति तोडिनु , राजनीतिक नियुक्ति र निर्णयमा नातावाद र गुटवाद हावी हुनु , पार्टीलाई सरकारको पुच्छर बनाउन खोज्नु , पार्टीसंग परामर्श नगरी तानाशाही शैलीमा सरकार संचालन गर्न खोज्नु आदि अहिलेको कम्युनिष्ट पार्टी र सरकारको लागि घातक हो।

जनतमाज चुनावताका गरिएका प्रतिबद्धताहरु खाली कोरा अक्षर मात्र थिएनन ती जनताको परिवर्तन र समृद्धिका खाका थिए।ती सबै प्रतिबद्धताहरु चुनाव जितिसकेपछी पूरा गर्नुको साटो झनै आन्तरिक किचलोमा फस्नु यो जस्तो दुर्भाग्य अरु केही हुन सक्दैन।सरकार जनमुखी बन्नुपर्ने त्यो पनि अझ कम्युनिष्ट सरकार तर त्यसो देखिदैन ।पार्टीलाई एनजीओ जस्तै बनाएर बिभाजनको पथमा अगाडि बढाउनु कम्युनिष्ट पार्टीका लागि चुनौतीको विषय हो।
सहि अर्थमा कम्युनिष्ट वा समाजवादी बन्न त्यति सजिलो छैन ।सरकारका नीति र कार्यक्रम सबै तहमा देखिने मोजमस्ती , रहनसहन शैली स्वाद र ब्यवहार कुनै पनि कुराले यो सरकार र नेकपा समाजवादको मार्गमा छ भन्न मिल्दैन ।निजि स्वार्थ लम्पट शासनतिर लम्किरहेको छ सरकार भन्ने अनुभुती आम नेताकार्यकर्ता र सर्वसाधारण जनताले गर्न थाल्याछन।
अहिले नेकपामा जेजस्तो आन्तरिक राजनीतिक किचलो को विकास हुदैछ , त्यो केवल एउटा दलको भबिस्यसंग मात्र जोडिएको छैन।समग्र रास्ट्र आम जनतासंग जोडिएको छ।नेकपाको नेतृत्व पंक्तिले नेपालको यथार्थ धरातलमा टेकेर आफ्नो नीति र ब्यवहारलाई समाल्न सकेन भने गणतन्त्र नै संकटको भुमरीमा फस्न सक्ने जोखिम बढेर गएको छ।
दलाल पुजीपतिको पक्षपोषण र संरक्षण गरिरह्यो भने गणतन्त्र सिद्धिने खतरा बडेर गएको छ।यो अहिले को गणतन्त्र पनि बुर्जुवा गणतन्त्र हो।अहिले देशको नेतृत्व गरिरहेका नेताहरुको सोच र चिन्तनका कारण गणतन्त्र र संघीयता समेत गम्भीर संकटमा परेको छ।नेपाल का उच्चपदस्त नेतृत्व बाट नै अहिले एकाधिकार दलाल पुजीवादलाई प्रसय दिइराखेको छ।
अहिले को परिस्थितिमा दलाल पुजीवाद हावी भएको छ ।यस्तो ब्यवस्थामा अब निर्वाचन प्रणाली बाट मजदुर , दलित , किसान , महिला , जनजाति कसैको पनि प्रतिनिधित्व हुँदैन ।किनकी यो ब्यवस्थाको निर्वाचन प्रणालीमा जसले करोडौं करोड लगानी गर्न सक्छ उसैले चुनाव जित्छ ।त्यो ल्यागत नैतिकवान र इमानदार नेतृत्व संग हुँदैन ।
दलाल पुजीवादको आहालमा चुर्लुम्म डुबेर आएको नेतृत्वले फेरि पनि एकाधिकार दलाल पुजीवादलाई नै प्रसय दिन्छ।वर्गीय मुद्दा सधै ओझेलमा पर्छ।निर्वाचनको बेला लेखिएका घोषणापत्रमा जे कुरा उल्लेख थियो , त्यो ब्यवहारमा १० प्रतिशत पनि कार्यनयन छैन ।
त्यसैले घोषणापत्र अनुसार काम हुन सकेन भनेर पार्टी , सरकार , मुलुक सबैतिर यो कुरा अभिव्यक्त भैरहेको छ।विधि बिधान मिच्दै ब्यक्तिगत र गुटगत स्वार्थ मा केन्द्रीत भएर विभिन्न ठाउ मा गुट भेला गर्दै हिड्ने यस्तो परिपाटीले पार्टी विभाजन को लागि मसला थपिरहेको छ।
तथ्य र तर्कका आधारमा बैचारिक बहस गर्न नसकेर ब्यक्तिगत गालिगलौज मा उत्रिने जो घृणित कार्य भैराखेको छ यसले पार्टी लाई मृत जस्तै बनाएको छ।जनताले चाहेको एकताबद्ध नेकपा जसले सर्वहारावर्गीय जनताको घाउमा मलमपट्टि गर्न सकोस निभेको चुलो बाल्न मद्दत गरोस भन्ने हो।
तर यो सरकार को रबैया हेर्दा पुजीवादी स्यालहरु लाई मात्रै भरणपोषण गरेको देखिन्छ ।यस्तो सिस्टमले कम्युनिष्ट पार्टी लाई पतनतिर उन्मुख गराउछ ।त्यसैले भ्रष्ट र दलालहरुको विरुद्ध संघर्षगर्नुपर्ने देखिन्छ।
किशोर सुवेदी ,
प्रेस संगठन सदस्य कर्णाली प्रदेश सुर्खेत ,
