राष्ट्रिय सभा उपचुनावको उम्मेदवारी दर्ता आज,ओली पक्षको उम्मेदवार टुंगो लागेन,

वैशाख २४ ,काठमान्डौ – राष्ट्रिय सभाको लागि हुन लागेको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । आगामी जेठ ६ गते उपनिर्वाचन हुन लागेको हो। उम्मेदवारी दर्ताको समय विहान १० बजेदेखि ४ बजेसम्म निर्धारण गरिएको छ ।

वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटका लागि हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता गर्न लागेको हो । यद्यपि सत्तारुढ नेकपा एमालेले भने उम्मेदवारको अझै टुंगो लगाउन सकेको छैन । २०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट नेता रामबहादुर थापा ‘बादल’ यो क्षेत्रबाट निर्वाचित भएका थिए ।

बादल नेकपा एमालेमा प्रवेश गरेपछि उनको सांसद पद गुमीसकेको छ ।खाली भएको यो क्षेत्रमा एमालेले बादललाई नै पुनः उम्मेदवार बनाउन चाहेको छ ,तर बादलले जित्ने पक्का नभएपछि उम्मेदवारी नदिने अडानमा छन् ।

यो पदमा संयुक्त गठबन्धनको तर्फबाट डा. खिमलाल देवकोटाले उम्मेदवारी दिने भएका छन् । उनी माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव लड्ने सहमति यसअघि विपक्षी दलहरुबीच भएको थियो । देवकोटा माओवादी, कांग्रेस र जसपाको संयुक्त उम्मेदवार हुन् ।

राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनका लागि निर्वाचन आयोगले वाग्मती प्रदेशको राजधानी हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

राष्ट्रियसभा सदस्य पदमा जेठ ६ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।