कर्णाली प्रदेशसभा बैठकमा एमालेको अवरोध

असार ११ ,सुर्खेत – प्रतिपक्षी दल नेकपा एमालेले कर्णाली प्रदेश सभा बैठक अवरुद्द गरेको छ । आफ्नो दलबाट सरकारमा सहभागी तीन मन्त्रीले राजीनामा दिनुपर्ने लगायतका माग राख्दै एमालेले शुक्रबारको संसद बैठक अवरुद्ध गरेको हो ।

बैठकको सुरुमै एमालेका प्रमुख सचेतक गुलावजंग शाहले आफ्ना तिन मन्त्रीले राजिनामा दिनुपर्ने माग राखे। सर्वोच्चले सांसद पदमा पुनर्वहाली गरिदिएपछि उनीहरु एमालेका सांसद भएको भन्दै अब मन्त्री पदमा बस्न नमिल्ने बताए ।

सरकारलाई साथ दिने नदिने भन्ने पार्टीले गर्ने निर्णय हो कोही व्यक्तिको इच्छाले हुँदैन गुलावजंग शाहले भने। माओवादी नेतृत्वको प्रदेश सरकारमा एमालेका तीन मन्त्रीहरु भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, बन तथा वातावरणमन्त्री नन्दसिंह बुढा सहभागी छन् । तिनै जनाले राजिनामा नदिने बताईसकेका छन्।