ओली पक्षको बहस सकियो, अब सभामुखका तर्फबाट

असार १८ काठमान्डौ – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सरकारी पक्षका कानुन व्यवसायीको बहस बिहीबार सकिएको छ ।

सरकारी पक्षबाट गत सोमबारबाट बहस सुरु भएको थियो। यो संगै अब सभामुख अग्नि सापकोटाको तर्फबाट आइतबार कानुन व्यवसायीले बहस गर्ने छन्। सभामुखका वकिललाई एक घण्टा समय छुट्याइएको छ ।

सरकारी पक्षलाई १५ घण्टाको समय दिइएको थियो । त्यसमा सरकारी वकिल र प्रधानमन्त्रीका वकिलले सातसात घण्टा बहस गरेका थिए। प्रतिनिधिसभा विघटनसम्बन्धी प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

सभामुखका कानुन व्यवसायीको बहसपछि रिट निवेदक पक्षले जवाफ दिने छ । त्यसका लागि तीन घण्टाको समय निर्धारण गरिएको छ । लगतै अदालतका सहयोगीको बहस हुनेछ। जसको लागि दुई घण्टाको समय तोकिएको छ । त्यसपछि फैसला हुनेछ उक्त फैसलालाई राखेर प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गरिन्छ ।