कर्णालीमा माओवादी केन्द्रले चार मन्त्रालय नपाए सरकारमा नजाने निर्णय
सुर्खेत – कर्णालीमा नेकपा माओवादी केन्द्रले चार मन्त्रालय मागेको छ। बिहीबार बसेको प्रदेश संसदीय दलको बैठकले चार मन्त्रालय अनिवार्य पाउनुपर्ने निर्णय गरेको संदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले बताए ।
गठबन्धनमा हामी सबैभन्दा ठूलो दल छौं। दलको बैठकले पनि सरकारमा सम्मानजनक सहभागिताका लागि चार वटा मन्त्रालय पाउनुपर्ने निर्णय गरेको छ प्रमुख सचेतक विष्टले रंग दर्पणसंग भने ।
सत्तारुढ दल माओवादी केन्द्र, नेपाली कांग्रेस र एकीकृत समाजवादीबीच मन्त्रालय बाँडफाँडमा सहमति जुट्न सकेको छैन। दलहरुबीच मन्त्रालय भागबन्डामा सहमति नजुट्दा मन्त्रीपरिषद्ले पूर्णता पाउन सकेको छैन।
हाल सरकारको नेतृत्व कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले गरिरहेका छन्। मुख्यमन्त्री शाहीले शपथ लिएको दुई सातापछि मंगलबार मात्र एक जना मन्त्री नियुक्त गरेका छन्। उनले समाजवादीका तर्फबाट चन्द्रबहादुर शाहीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका छन्।
आठ सदस्यीय मन्त्रीपरिषद्मा अरु ६ वटा मन्त्रालयमा मन्त्री नियुक्त हुन भने सकेका छैनन्। माओवादीले चार वटा, कांग्रेस र समाजवादीले तीन-तीन वटा मन्त्रालय पाउनुपर्ने अडान लिएका छन्। जसका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ। माओवादी केन्द्रले चार मन्त्रालय पाए मात्र सरकारमा जाने बताएको छ।