क्रान्तिकारी युवाहरूको संघर्ष र अहिलेको आवश्यकता
काठमान्डौ- नयाँ र पुरानोबीचको संघर्ष द्वन्द्ववादको आधारभूत नियम हो। यी दुवैबीचको संघर्षले नै वस्तुमा गति पैदा गर्दछ। नयाँ र पुरानोको संघर्षको स्तरले नै वस्तुको विकासको स्तर निर्धारण गर्दछ। यी दुवैबीच जुन गतिमा संघर्ष हुन्छ, त्यही गतिमा वस्तुको विकासप्रक्रिया अगाडि बढ्छ ।
यो संघर्ष तीव्र भएमा वस्तुको विकास तीव्र गतिमा हुन्छ, मन्द भएमा वस्तुको विकास पनि मन्द हुन जान्छ र समन्वय कायम भयो भने गत्यावरोध अर्थात विनासको सिलसिला सुरु हुन्छ। समाज वस्तुगत जगतको उपज हो।
वस्तुगत जगतमा काम गरिरहेका विज्ञानका नियमहरु समाज विज्ञानमा पनि काम गरिरहेका हुन्छन् । समाजमा नूतन र पुरातनबीचको संघर्ष – नयाँ उत्पादक शक्ति र पुरानो उत्पादन सम्बन्ध , नयाँ आर्थिक आधार र पुरानो उपरिसंरचना, पुरानो सत्ता र नयाँ सत्ता ,पुरानो बिचार र नयाँ बिचार ,पुरानो पिढी र नयाँ पिढी ,पुरातन सत्य र नूतन सत्य आदि भिन्नभिन्न अवस्था ,स्तर र रूपमा अभिव्यक्त हुन्छन् ।
अन्तरबिरोध बारे कमरेड माओ भन्नुहुन्छ – “समाज परिवर्तनको मुख्य कारण समाजमा विद्यमान आन्तरिक अन्तरविरोध ,वर्गहरुबीचको अन्तरविरोध तथा नयाँ र पुरानोबीचको अन्तरविरोध हो। यी अन्तरविरोधहरुको विकासले नै समाजलाई अगाडि बढाउछ। पुरानो समाजको स्थानमा नयाँ समाजको स्थापनाको प्रक्रियालाई गति प्रदान गर्दछ।”
नयाँ र पुरानोबीचको वर्गसंघर्षको प्रतिबिम्ब पार्टीभित्र अन्तरसंघर्ष वा दुई लाइन संघर्षका रूपमा प्रकट हुन्छ। यो संघर्ष पुरानो रुढीबादी वा सुधारवादी बिचार र अग्रगामी क्रान्तिकारी बिचारका बीचमा ,रुढीबादी वा सुधारवादी कार्यशैली र क्रान्तिकारी कार्यशैलीका बीचमा युवा पिढी र उदासीन पुरानो पिढीका बीचमा ,सामन्ती तथा पुजीवादी जीवनशैली र सर्वहारावादी जीवनशैलीका बीचमा संघर्षका रूपमा प्रकट हुन्छ।
जब पुरानो पिढी आफ्नो सडेगलेको बिचार ,चिन्तन ,कार्यशैली र जीवनशैलीलाई बदल्न इच्छुक हुँदैन वा इच्छुक भएर पनि ब्यवहारमा रुपान्तरण हुने साहस गर्दैन ,तब नयाँ र पुरानाबीचको संघर्ष चर्कन थाल्छ। रुपान्तरण हुन नसक्ने पुरानो पिढीका विरुद्ध संघर्ष गर्न नसक्ने हो भने नयाँले पनि पुरानोको जस्तै पतनलाई बेहोर्नुपर्ने हुन्छ ।
रंग दर्पणको रिपोर्टिङ्ग भिडियो,
तसर्थ आफ्नो अस्तित्व र विकासका लागि युवा पिढीले संघर्ष गर्नुबाहेक अर्को विकल्प बाकी रहन्न ।यस विषयमा उदारता देखाउनु आन्दोलन र पार्टीप्रतिको दायित्वबाट पन्छेर अन्ततः पलायन हुनु हो। पुरानो र नयाँबीचको संघर्षमा सामान्यत नयाँले पुरानोमाथि विजय प्राप्त गर्दछ तर कतिपय प्रतिकूल अवस्थामा अस्थायी रूपमा पुरातनद्वारा पराजित भएमा पार्टीमा गत्यावरोध पैदा हुन्छ, जुन प्रतिक्रान्तिको कारक हुन पुग्छ। यस्तो अवस्थामा कमरेड माओको “विद्रोह गर्नु जनताको अधिकार हो” भन्ने सास्कृतिक क्रान्तिको स्प्रिटलाई समात्नुभन्दा अर्को विकल्प हुँदैन।
नयाँ पिढीका क्रान्तिकारी युवाहरूलाई एकजुट भएर संघर्ष गर्न नदिन र उनीहरुका बीचमा फाटो पैदा गर्न विभिन्न कोणबाट षड्यन्त्र र चालबाजी हुनसक्ने सम्भावनाप्रति नयाँ र पुराना दुवै पंक्तिका क्रान्तिकारीहरु चनाखो हुनु आवश्यक छ। अवसरवादले एउटा तरिकाले पोल खुलेपछि अर्को तरिका अवलम्बन गरेर भ्रम पैदा गरि आफ्नो उद्देश्य पूरा गर्न भगिरथ प्रयत्न गर्दछ।
आज अवसरवादले क्रान्तिकारी आवरणभित्र आफ्नो राजनीतिक लक्ष्य प्राप्त गर्न धम्की र बिलौनाको कार्यशैली प्रति क्रान्तिकारीहरुको ध्यान जानू आवश्यक छ। कमरेड लेनिनले अवसरवादलाई सर्पसंग तुलना गर्नुभएको छ। अवसरवादको कहिल्यै पनि पकडमा नआउने चरित्र हुन्छ। त्यो यता समात्यो उता चिप्लिन्छ ,उता समात्यो यता चिप्लिन्छ।
त्यसैले यतिबेला क्रान्तिकारी र अवसरवादीबीचको संघर्ष ,युवा र प्रौढबीचको संघर्ष , नयाँ र पुरानो पिढीबीचको संघर्षलाई ठिक ढंगले अगाडि बढाउन आवश्यक छ। एकता-संघर्ष- रुपान्तरणको मान्यतालाई दृढतापुर्वक लागू गर्नको निम्ति अवसरवादका सबै तरिका र कुटिल चालबाजीको समयमै पहिचान गर्नुपर्छ र क्रान्तिकारीहरुले एकजुट भइ संघर्ष चलाएर रुपान्तरण अर्थात संश्लेषणको प्रक्रियालाई अगाडि बढाउनु आवश्यक छ।
पार्टीको नीति , योजना , कार्यक्रम र निर्णयहरुलाई दृढतापुर्वक ब्यवहारमा लागु गर्न नयाँ पुस्ताले गरेको मागलाई बेवास्ता गरेर पुरानो पुस्ताले नयाँ पुस्तामाथी अपरिपक्व , अनुभवहिन ,अब्यावहारिक ,रोमान्टिक ,अराजक ,अनुशासनविहिनलगायतका लेबल लगाएर पन्छाउन खोज्नु दुर्भाग्यको विषय बन्न पुगेको छ। नयाँ पुस्ताको जायज मागलाई सहर्ष स्वागत गरेर आत्मालोचित भइ आफूलाई रुपान्तरण गर्नुको बदला नयाँ पिढीको सहि आवाजलाई दबाउनु विडम्बना नै मान्नु पर्दछ।
निश्चय नै युवाहरूमा बालसुलभ कमजोरी रहन्छन् तर त्यसप्रकारको कमजोरीलाई सहज रूपमा लिनेभन्दा युवा पिढीको क्रियाशीलता र जुझारुपनबाट आतंकित भइ उनीहरुको क्रान्तिकारी आशावादमा पानी खन्याउने प्रवृत्ति कति हानिकारक छ भन्ने कुरा महान कमरेड लेनिनको निम्न भनाइबाट अझ प्रष्ट हुन्छ ” युवाहरूदेखि नडराउ । संघर्षले नै उनीहरुलाई सिकाउनेछ। उनीहरुको बेवास्ता गर्नु र उनीहरुसंग डराउनु मुर्खतासिवाय केही होइन ।”
आज युवाहरूको बहुसंख्यक हिस्सालाई आन्दोलनमा सामेल गर्ने कुराको महत्वलाई सिद्धान्तत सबैले स्वीकार गर्दछन तर पार्टीभित्रको रुढीबादी र सुधारवादी प्रवृत्ति संगठनात्मक र ब्यवहारिक रूपमा युवाहरूलाई अगाडि बढाउने सवालमा बाधक बनिरहेको छ।युवाहरु सदैव नयाँ चीजप्रति संवेदनशील हुन्छन् ।
पुरानो पिढीले युवा पिढीको आशङ्का र अविश्वासबाट ध्यान अन्यत्र मोड्न बृद्ध युवाहरूलाई अगाडि बढाएर आफू युवाहरूको विकासप्रति संवेदनशील भएको अभिनय गर्ने प्रक्रियाले स्थितिलाई झन जटिल बनाइदिएको छ। निश्चय नै युवा र प्रौढ उमेरजन्य सवालसंग जोडिएको विषय हो तर यसलाई बिचार ,स्पिरिट ,सिर्जनशीलता,ज्ञान ,जुझारुपन र क्रियाशीलताबाट अलग गरेर हेर्ने अतिभूतवादी चिन्तनविरुद्ध संघर्ष गरेर मात्र क्रान्तिकारी युवाहरुलाई अग्रगती प्रदान गर्न सकिन्छ। यस् सन्दर्भमा महान कमरेड मार्क्सको निम्न भनाइ सान्दर्भिक छ।”मानवजातिको भविस्य युवाहरूको अगाडि बढेको हिस्सामाथी भर पर्दछ।”
मार्क्सले युवाहरुको अगाडि बढेको हिस्सा भन्नुको तात्पर्य क्रान्तिकारी युवाहरूको भूमिकालाई इङ्गित गर्नुभएको कुरा स्पष्ट छ। क्रान्तिकारी युवाहरु भनेका को हुन त? जसले पुराना सडेगलेको चिन्तन , बिचार , कार्यशैली र आचरणविरुद्ध दृढतापुर्वक संघर्ष गर्दछन । सिर्जनशीलता , क्रियाशीलता , त्याग र बलिदानी भावनाका धनी क्रान्तिकारी युवा हुन् ।
दब्बु, अन्धभक्त र उदासिन भावनाले ग्रस्तहरु उमेरले युवा भए पनि बिचारको दृष्टिकोणले बृद्ध युवाहरुभित्र पर्दछन। आज बृद्ध युवाहरुलाई अनुशासित युवाहरुका रूपमा प्रस्तुत गरेर पार्टीमा क्रान्तिकारी युवाहरुको भर्ती र पदोन्नतिलाई रोक्ने र युवाहरूलाई फुटाउ र शासन गर भन्ने अवसरवादी सोचाइका विरुद्ध निर्मम संघर्ष गर्दै क्रान्तिकारी युवाहरूलाई पार्टीमा व्यापक रूपमा भर्ती र पदोन्नति गरेर मात्र आन्दोलनको वर्तमान आवश्यकतालाई पूरा गर्न सकिन्छ।
(लेखक किशोर सुवेदी समसामयिक विषयमा निरन्तर कलम चलाइराख्ने कर्णाली प्रदेशका एक बौद्धिक युवा हुन।)