गैँडा मरेको घटनामा ठेकेदारविरुद्ध पक्राउ पूर्जी

माघ १५ ,चितवन – चितवनमा गैँडा मरेको घटनामा ठेकेदारविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ। गत माघ ९ गते भरतपुरको गोन्द्राङमा निर्माणाधीन सडकको नालीमा परेर गैँडा मरेपाछी छानबिन समिति बनाइएको थियो।

सडकको नाली लापरबाहीपूर्ण तरिकाले छाड्दा गैँडा मरेको घटनामा चितवन राष्ट्रिय निकुञ्जले इण्डो सगुन जेभीका सञ्चालक सहदेव खड्काविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जले अनुसन्धान अधिकृत तोकेर काम अगाडि बढाएसँगै ठेकेदार कम्पनीका सञ्चालक खड्कालाई पक्राउ पूर्जी जारी गरिएको बताए ।

खड्काले नारायणगढ गोन्द्राङ लेनको सडक विस्तार र भरतपुरमा सिटी हल बनाइरहेका छन् । निकुञ्जले सहायक संरक्षण अधिकृत राजु घिमिरेलाई अनुसन्धान अधिकृत तोकेको छ ।वन तथा वातावरण मन्त्रालयले समेत वन विभागका उपमहानिर्देशक डा. राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय छानबीन समिति गठन गरेको छ ।

समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने भनिएको छ। । डिभिजन सडक कार्यालय चितवनले पुल्चोकदेखि गोन्द्राङसम्म ६ लेन सडकका लागि ठेक्का लगाएको थियो । सडकले वन्यजन्तु करिडोरमा निर्माण गर्दा पालना गर्नुपर्ने ऐन कानून अवलम्बन नगरी काम गर्दा घटना भएको निकुञ्जले जनाएको छ । गत बिहिबार पक्राउ पुर्जी जारी गरेपनि सञ्चालक सहदेव खड्का अझै पक्राउ परेका छैनन्।