निर्वाचनबारे छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक बस्दै

माघ १५,काठमाडौं – निर्वाचनबारे छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बोलाइएको श्रोतले जनाएको छ।

शु्क्रबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटपछि थप छलफल गर्न बैठक बोलाईएको हो।

स्थानीय तहका पदाधिकारीको पाँचवर्षे कार्यकाल आगामी जेठ ५ गते सकिँदैछ। निर्वाचनको तयारीका लागि १ सय २० दिन आवश्यक पर्ने भएकोले सरकारलाई निर्वाचनको मिति तोक्न निर्वाचन आयोग र एमालेले दबाब दिँदै आएको छ।

तर सत्ता गठबन्धन तीनै तहको निर्वाचन एकै पटक गर्ने वा छुट्टाछुट्टै मितिमा गर्ने अन्योलमै रहेको छ। हिजो मात्र प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको भेटबारे प्रचण्ड र नेपाललाई जानकारी गराएका थिए।

राष्ट्रपतिले प्रधानमन्त्री देउवालाई समयमै निर्वाचन गर्न सल्लाह दिएकी थिइन्। देउवाले गठबन्धनका नेताहरूसँग यसबारे छलफल गर्ने जानकारी गराएका थिए। सत्ता गठबन्धनले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरेर संविधानअनुसार बनाउने बताइरहेका छन्। आज बस्ने गठबन्धनको बैठकले केहि निकास निकाल्ने बताईएको छ।