प्राइम लाइफ इन्स्योरेन्स कम्पनीलाई बिमा समितिले गर्यो कारबाही
काठमाडौं – जीवन बीमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीलाई नियामक निकाय बिमा समितिले कारबाही गरेको छ । संस्थागत सुशासन सम्बन्धी पालना गर्नु पर्ने नियमहरु पालना नगरेको पाईएपछी प्राइम लाइफ इन्स्योरेन्स कम्पनीलाई कारबाही गरिएको बिमा समितिले जनाएको छ।
बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार कम्पनीलाई बिमा समितिले १० हजार रुपैयाँ जरिवाना गरेको छ । समितिले कम्पनीलाई संस्थागत सुशासन निर्देशिका, २०७५ तथा वैदेशिक रोजगार म्यादी जीवन बिमा सम्बन्धी निर्देशन, २०७३ विपरीत कार्य गरेको कारण कम्पनीलाई १० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको जनाएको छ ।
प्राइफ लाइफले संस्थागत सुशासन सम्बन्धी निर्देशिका पालना गरे/नगरेको विषयमा स्थलगत निरीक्षण गरेको थियो । कम्पनीले तलब भत्ता निर्धारण नै नगरी कर्मचारीका नाममा ठूलो रकम खर्च गरेको, बीमितको हित विपरीत नक्कली बिमालेख जारी हुन गएको र वैदेशिक रोजगार म्यादी जीवन बिमा सम्बन्धी निर्देशन, २०७३ बमोजिम सुरक्षित, मर्यादित र व्यवस्थितरूपले वैदेशिक रोजगार बिमा नगरेको देखिएको भन्दै कारबाही गर्नुपरेको कम्पनीले जनाएको हो।