माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै एमसीसीमा नारायणकाजीले आफ्नो विचार राख्ने
काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै छ। बैठक बिहान ११ बजे राष्ट्रिय सभागृहमा बस्ने र तिन दिन सम्म चल्ने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बताए ।
बैठकमा समसामयिक राजनीति, स्थानीय तह निर्वाचनको तयारी र सांगठनिक विषयमा बैठकमा छलफल हुने छ भने एमसीसी अनुमोदनमा विमति राख्दै आईरहेको नारायणकाजी श्रेष्ठको समूहले आफ्नो विचार राख्ने छ।महाधिवेशनको म्याण्डेट विपरीत अमेरिकी सहयोग परियोजना एमसीसीलाई ब्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णयका कारण माओवादीभित्र विवाद छ ।
यस्तै केन्द्रीय समितिको बैठकबाट बाँकी केन्द्रीय सदस्यहरुको मनोनयन, पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी चयन गर्ने तयारी पनि रहेको पाईएको छ । गत पुसमा आयोजित आठौं राष्ट्रिय महाधिवेशनले केन्द्रीय सदस्यमात्र चयन गरेको थियो । तिनै केन्द्रीय सदस्यहरुको पहिलो बैठकले अध्यक्षमा प्रचण्डलाई निरन्तरता दिने निर्णय गरेको थियो ।
विधान अनुसार पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहनेछन् । महाधिवेशनबाट अनुमोदित विधानमा २९९ केन्द्रीय सदस्य हुने भनिए पनि माओवादीले ६३ जना केन्द्रीय सदस्यहरु मनोनित् गर्न बाँकी छ ।