प्रधानमन्त्रीसँग विप्लवको भेट सम्झौता तत्काल कार्यान्वन गर्न माग

फागुन २८ काठमान्डौ – प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित विप्लव हिजो प्रधानमन्त्री देउवालाइ भेट्न बालुवाटार पुगेका थिए । भेटको कुराकानीमा विप्लवले सरकारसँग भएको तीनबुँदे समझदारीको कार्यान्वयन नभएको गुनासो गरेको छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका वेला २१ फागुन २०७७ मा सरकार र नेकपाबीच तीनबुँदे समझदारी भएको थियो । समझदारी भएसँगै हिंसात्मक गतिविधि गरिरहेको पार्टी शान्तिपूर्ण राजनीतिमा आएको थियो । सरकारसँग भएको समझदारीमा दुवै पक्ष देशका राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न ,सरकारका तर्फबाट नेकपामाथि लगाइएको प्रतिबन्ध हटाउने र कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ताको रिहाइ र सम्पूर्ण मुद्दा खारेज गर्ने भनिएको थियो।

प्रधानमन्त्री देउवाले भने सहमति कार्यान्वयनका लागि सहयोग गर्ने आश्वसन दिएको श्रोतले बताएको छ। उनले यस विषयमा गृहमन्त्री बालकृष्ण खाँण र कानूनमन्त्री दिलेन्द्रप्रसाद बडुसँग पनि छुट्टै छलफल गर्ने बताएका छन् ।

तर सरकार पक्षबाट सहमति कार्यान्वयनमा अलमल भएको पार्टीका प्रवक्ता प्रकाण्डले बताए। ‘सरकारले सहमति कार्यान्वयनमा इमान्दारिता देखाउनुपर्ने उनको भनाई छ। हिरासतमा रहेका विप्लवका केही नेता कार्यकर्ता रिहा भएका थिए भने केहीलाई अदालतले धरौटीमा छाडेको थियो । तर अदालतमा मुद्दा विचाराधीन रहेकासहित १२५ नेता कार्यकर्ता अझै कारागारमा रहेको नेकपा विप्लव श्रोतको दाबी छ।
