गठबन्धनका उमेदवारलाई जिताएर ,माला लगाएर मात्र काठमान्डौ फर्किन्छु : महरा

काठमान्डौ – नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले स्थानीय तहको निर्वाचनको परिणाम नआउँदासम्म दाङमै बस्ने बताएका छन्।
बुधबार घोराहीमा पाँच दलीय गठबन्धनले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व सभामुख महराले स्थानीय तहको निर्वाचनमा गठबन्धन उम्मेदवारको पक्षमा माहोल निर्माण गर्न आफू दाङमा आएको बताए ।
उनले भने गठबन्धनका साथीहरूले जितेपछि उहाँहरूलाई अबिर-माला लगाएर मात्रै काठमाडौं फर्किने छु।अब म थपक्क दाङमै बस्छु।

दाङका दुई उपमहानगरपालिका मध्ये महराको निर्वाचन क्षेत्र २ अन्तर्गतको घोराहीमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मा (डायमण्ड) मेयरमा र नेपाली कांग्रेसका नेता भुपबहादुर डाँगी उपमेयरका साझा उम्मेदवार छन्।

त्यस्तै तुलसीपुरमा गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी मेयरमा र नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य जोगबहादुर राना मगर उपमेयरका उम्मेदवार छन्।
डायमण्डले मलाई चुनाव जिताउनु भएको हो र उहाँले कसरी मलाई जिताउनु भएको मलाई थाहा छैन,’ महराले भने।अब डायमण्ड र डाँगी जी बसेर संयुक्त कार्ययोजना बनाएर जानुस् जित सुनिश्चित छ।
महराले प्रतिगमनलाई परास्त गर्न, संविधान र लोकतन्त्रको रक्षा गर्न गठबन्धनका उम्मेदवारले जित्न अति आवश्यक रहेको पनि बताए ।
विगतमा नेकपा एमाले नेतृत्वको सरकारले गरेका क्रियाकलापका कारण मतदाताले स्वत: गठबन्धनलाई रोज्ने महराको दाबी छ।
