काङ्ग्रेसको चुनावी प्रचार प्रसार टेन्टमा माओवादीका कार्यकर्ताले आगो लगाईदिए

जाजरकोट – यहीँ वैशाख ३० गते हुन गैइरहेको स्थानीय तह निर्वाचनको लागि नेपाली काङ्ग्रेसले चुनावी प्रचार प्रसार गर्ने उद्देश्यले तयार गरिएको कार्यक्रमस्थल नेकपा माओवादी केन्द्रका कार्यकर्ताले आगजनी गरेका छन्।
जिल्लाको त्रिवेणी गाउँपालिका-५ जिवाङमा कार्यक्रमका लागि तयार पारिएको कार्यक्रमस्थल आगजनी गर्नुका साथै चुनावी कार्यक्रम नै गर्न नदिएको नेपाली कांग्रेसले जनाएको छ।
पार्टीका त्रिवेणी गाउँपालिका सभापति दीपेन्द्र ओलीका अनुसार पूर्व निर्धारित कार्यक्रमअनुसार गर्न लागिएको कार्यक्रम स्थलको टेन्टमा आगो लगाइएको छ भने वडा कार्यालय तोडफोड गरिएको छ।
त्यसैगरी कार्यक्रमको तयारीको लागि प्रयोग गरिएको रा१च १२७२ नम्बरको जिप र चालकसमेत माओवादीकै नियन्त्रणमा रहेको सभापति ओलीले बताए।
यस्तै ४ जना कार्यकर्ताको मोबाइलसमेत खोसिएको छ भने दुई जनालाई आक्रमण गरेर घाइते बनाइएको छ।
माओवादी केन्द्रका कार्यकर्ताले स्थानीय दिव्य विकास मावि नजिकैको बाटोमा रुख ढालेर कार्यक्रममा आवतजावत गर्न बन्द गरेको थिए भने चुनावी प्रचार सामाग्री खोसेर आगजनी गरेको कांग्रेसले जनाएको छ।
उक्त स्थानमा अहिलेसम्म प्रहरी पुग्न सकेको छैन भने कांग्रेसले चुनावी सभा सञ्चालन गर्नसमेत सकेको छैन।
