सुर्खेतमा जरायोको मासु भाग लगाईरहेका चार जना पक्राउ
असार २९
सुर्खेत – सुर्खेतको काँक्रेविहार वनमा संरक्षित गरेका जरायो मारेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नयाँगाउँ क्षेत्रबाट जरायो मारेर मासु भाग लगाइरहेकाे अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।
बुधवार बिहान ३ बजे जरायो मारेर भाग लगाइरहेको भन्ने सूचनाका आधारमा घटनास्थलबाटै चार जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर,१० का ५२ वर्षीय डम्मरबहादुर थारु, उनका छोरा २१ वर्षीय सुशील, २८ वर्षीय आशाराम चौधरी र वीरेन्द्रनगर,११ का ४१ वर्षीय मीनबहादुर वली रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कारबाही हुने जिल्ला वन कार्यालय सुर्खेतले जनाएको छ । यस्तै अन्यको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।