काठमान्डौ भित्र चटपटे पानी पुरीमाथि रोक लगाईने

साउन २८

काठमान्डौ – काठमान्डौ महानगरपालिकाले फुटपाथमा खुल्ला रुपमा हुने व्यापारमा रोक लगाउने भएको छ।

वर्षायामसँगै खुला रुपमा बिक्री हुने खानाहरुमा सरुवा रोगको जोखिम बढेको भन्दै बन्द गराउन सकिने विषयमा महानगरमा छलफल भएको हो ।

बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक समेत रहेकी उपप्रमुख सुनिता डंगोलका अनुसार यो वर्षायाममा खुला रुपमा बिक्री हुने पानीपुरी, डेरीजन्य उत्पादनलगायतका खानाबाट सरुवा रोगको जोखिम हुनसक्ने भएकाले प्रिभेन्टिब एप्रोचमा जान सकिन्छ भनेर छलफल गरेको  उनले बताईन।

महानगरपालिकाले पानीपुरीलगायत डेरीजन्य उत्पादनको परीक्षण गरेर मात्रै निर्णय गर्ने तयारी पनि गरेको छ । चटपटे, पानीपुरी, मोही,दही, खुला दूधलगायतमा पानी प्रयोग हुनसक्ने भन्दै अन्य पदार्थको परीक्षण गरेर महानगरले यस्ता वस्तुको बिक्री रोक्न खोजेको हो ।

खुला रुपमा बिक्री हुने पसल तथा बजारमा निगरानी बढाएर बर्खायाममा फैलन सक्ने संक्रामक रोग रोक्न भन्दै संयोजक डंगोलले व्यापारिक क्रियाकलापको अनुगमनका लागि तत्काल परिचालित हुने योजना बनाउन निर्देशन दिएकी हुन।

माछामासु, पानी, दूधजस्ता दैनिक उपभोग्य खाद्य तथा पेय पदार्थमा दूषित पानीको प्रयोग भए चाँडो संक्रमण फैलन सक्ने जोखिम बढेको छ। काठमान्डौमा खुल्ला रुपले दूध बिक्री गर्ने र पलास्टिकमा हालेर रबरले बाधेर बेच्ने गरिएको हुन्छ।