राजधानीमा पैदल यात्री लाई बाटो काट्न सास्ती ,,

रंग दर्पण २१ माघ –

काठमाडौं : पैदल यात्री लाई राजधानीमा सास्थी हुने गरेको छ ,
बबरमहलमा काठमाडौं जिल्ला अदालत अगाडिको फराकिलो सडक वारपार गर्ने जेब्राक्रस मेटिइसकेको छ। तैपनि सयौं सर्वसाधारण दैनिक सडक वारपार गर्न त्यही मेटिएको जेब्राक्रस भएको ठाउँको अड्कल काट्दै बाटो काट्छन्।

वाणिज्य विभाग र सडक विभागबीचको मुख्य सडकमा भएका जेब्राक्रसको पनि अहिले कुनै नामनिसान छैन। चारतिरबाट सवारी आउजाउ हुने व्यस्त सडकमा जेब्राक्रस मेटिँदा तीव्र गतिमा हुइँकिने गाडीले कुनबेला बाटो काट्ने बटुवालाई ठक्कर दिने हो कुनै ठेगान हुँदैन। नयाँ बानेश्वरको व्यस्त चोकका जेब्राक्रस पनि यही हो भनेर ठम्याउन सकिने खालका छैनन्। आजको अन्नपुर्णपोस्टमा समाचार छ ।

कलंकी-त्रिपुरेश्वर सडकमा न लेन छन्, न त जेब्राक्रस नै। भगवान् भरोसामा बटुवा र गाडीले अनुमानकै भरमा सडक प्रयोग गरिरहेका छन्। सडकमा हुनुपर्ने न्यूनतम पूर्वाधार अभावबीच ट्राफिक प्रहरीले सवारी व्यवस्थापन गर्दै आएको छ।

उपत्यकामा हाल अदृश्य लेन तथा जेब्राक्रस, लथालिंग फुटपाथ र जीर्ण सडक, जथाभावी गाडिएका बिजुलीका पोल र काम नगर्ने सडकबत्तीका बाबजुद पनि सडक प्रयोग गर्न उपत्यकावासी बाध्य छन्। ट्राफिक प्रहरीका अनुसार गत साउनदेखि मात्रै हालसम्म ३० वटा दुर्घटना बिजुलीका पोलमा सवारी ठोक्किएर भएका छन्। जसमध्ये दुईले ज्यान गुमाएका छन्। गतवर्ष मात्रै ७५ जना पैदलायात्रुले दुर्घटनामा ज्यान गुमाएको प्रहरीले जनाएको छ। यो साउनदेखि पुससम्म उपत्यकामा ६५ जनाले ज्यान गुमाइसके त्यसमध्ये ३५ जना पैदलयात्रुले ज्यान गुमाइसकेका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक लेन, जेब्राक्रस र ट्राफिक लाइट व्यवस्थापनका लागि पटकपटक सडक विभाग र अन्यसम्बन्धित निकायलाई गुहार्दै आएको छ। महाशाखा प्रमुख डीआईजी सर्वेन्द्र खनाल भन्छन्, ‘ अहिले सडकमा कोही जोखिममा छ भने त्यो पैदलयात्री नै हो। कम्तीमा दुई लेन सडकमा हुनुपर्ने न्यूनतम पूर्वाधार नहुँदा दुर्घटना दैनिक भएका छन्। हामीले भएका स्रोतसाधनको उच्चतम प्रयोग गरेर सवारी व्यवस्थापन गर्दै आएका छौं।’ उनले सडक संकेत नहुँदा दुर्घटना भएपछि पुर्‍याउनुपर्ने कानुनी पाटोलाई समेत असर गरेको बताए। महाशाखाले सडक लेन अभावमा ट्राफिक प्रहरीलाई नै लेनमा उभ्याएर ड्युटी गराउँदै आएको छ। खनाल भन्छन्, ‘कति दिन ट्राफिकलाई लेनमा उभ्याएर राख्न सकिन्छ ? सडकप्रति सबै स्टेकहोल्डर जिम्मेवार भइदिने हो भने दुर्घटना न्यून गर्न सकिन्छ।’

सडक विभागले बर्सेनि २० करोड रुपैयाँ सडक व्यवस्थापनकै लागि बजेट विनियोजन गर्दै आएको छ। तर, सडकको अवस्था ज्युँका त्युँ छ। विभागका सहायक प्रवक्ता एवं योजना अनुगमन तथा मूल्यांकन शाखाका प्रमुख रमेशकुमार सिंह भन्छन्, ‘अहिले तीन सय किलोमिटर सडक ठेक्कामा लागे पनि विभिन्न माध्यमबाट रोकिएका छन्। निर्माणाधीन सडकमा रोड साइनको कुरै आउँदैनन्। निर्माण भइसकेका सडकमा पनि केही ठाउँमा जेब्राक्रस र सडक लेन मेटिएको साँचो हो।

त्यसलाई हामी रंग्याउने काम गर्दै छौं।’ उनले मेलम्ची खानेपानी आयोजना, सडक डिभिजन कार्यालय ‘क’ र उपत्यका सडक विस्तार आयोजनाले फरकफरक ठेक्कामार्फत काम गरेको र समयमा काम नसकिएका कारण सडक साइन राख्न नसकिएको बताए। ‘जेब्राक्रस र लेनको अवधि न्यूनतम तीन महिना देखि ६ महिनासम्म मात्रै हो। केही ठाउँमा मेटिएका छन्, सडक डिभिजनले जेब्राक्रसकै लागि २० लाख बजेटमा काम थालेको सूचना मैले पाएको छु। केही दिनमै राख्ला,’ सिंहले भने।

महानगरपालिकाले सडक विभागलाई देखाउने, विभागले विद्युत् प्राधिकरणलाई देखाउने र प्राधिकरणले मेलम्ची खानेपानी आयोजनालाई र आयोजनाले काठमाडौं उपत्यका विकास प्राधिरणलाई देखाउने प्रवृत्तिप्रति ट्राफिक प्रहरी आजित बनेको छ। महाशाखाका एक अधिकृत भन्छन्‘ सडकबारे कुरा गर्‍यो कि एकले अर्कोलाई थोपर्ने होडबाजी हुन्छ अनि कसरी हुन्छ सडक व्यवस्थित उहाको भनी छ ।