बाँदर धपाउन किसानलाई भोटे कुकुर दिईयो

चैत ९

अर्घाखाँची – बाँदरको आतंकले किसानलाई हैरानी पारेपछि अर्घाखाँचीमा भोटे जातका कुकुर बाँड्न सुरु गरिएको छ ।

किसानले लगाएको खेतबारीमा अन्नबाली, फलफूल र तरकारी बाँदरले नोक्सानी गरेर हैरानी पारेपछि यसको रोकथामका लागि बुधबारबाट कुकुर बााँड्न थालिएको पाणिनि गाउँपालिका,२ का वडाध्यक्ष चन्द्रकान्त पौडेलले बताए ।

यसअघि उनले किसानका हातमा प्लास्टिक,पाइपबाट बनाइएका बन्दुक दिएका थिए । खेतबारीमा काँडेतार लगाएर पनि बाँदरबाट बाली जोगाउने उपाय अपनाइएको थियो ।
तैपनि केही गरे पनि बाँदर नियन्त्रण नभएपछि यहाँका किसानलाई पछिल्लो समय कुकुर बाँड्न सुरु गरिएको उनले बताए ।

धादिङबाट ३, कास्कीको माछापुच्छ्रे गाउँबाट ४ र लेखनाथबाट २ वटा भोटे कुकुर ल्याएर किसानलाई वितरण गरिएको छ ।

४० देखि ६० दिनका ९ वटा कुकुर ल्याएर बाँडेको वडाध्यक्ष पौडेलले बताए । कुकुरलाई रेबिज भ्याक्सिन लगाएर घरमा पालिनेछ,’ उनले भने, ‘कुकुरलाई घर र बारीका छेउमा चौकीदारी राख्ने हो । बाँदर आए भुक्छ र लखेट्छ ।

बाँदरले खेतबारीका धान, मकै, गहुँ, कोदो, फापरदेखि तरकारी, फलफूल नोक्सान गरेर केही वर्षदेखि दुःख दिएको छ । घरमा मान्छे नदेखे घरभित्र पसेर बाँदरले अन्न समेत खाने र लैजाने गरेको किसानले बताए ।