बबई नदिको पानीले सतह पार गर्यो सर्वसाधारणलाई सचेत रहन आग्रह
साउन २०

काठमान्डौ – बबई नदीको पानीको सतह उच्च तहमा पुगेको छ। बबै पुल वार पार रहेका बसोबास गर्ने स्थानीयलाई सचेत बनाईएको छ भने नदि वारि पारी प्रहरी परिचालन गरिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले बबई नदीमा जलसतह ७ दशमलव १ मिटर पुगेको छ । बबई नदीमा ५ दशमलव ५ मिटरलाई चेतावनीको तह र ६ दशमलव ८ मिटरलाई खतराको तह मानिन्छ ।
विभागका बाढीविद् विनोद पराजुलीले जिल्ला प्रशासन, पालिका र नागरिकलाई पूर्वसूचना दिएर सचेत रहन सन्देश पठाइएको जानकारी दिए।
दाङका राप्ती तथा बबई नदी तथा खोलामा पानीको बहाव बढ्दो क्रममा नै रहेकाले जोखिमयुक्त क्षेत्रमा बसोवास गर्ने नागरिकलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दाङले आग्रह गरेको छ ।
सम्भावित जोखिम क्षेत्रका नागरिकलाई सुरक्षित ठाउँमा सर्नुपर्ने अवस्था आइपर्न सक्ने भन्दै प्रशासनले तत्काल पूर्वतयारी गर्न आह्वानसमेत गरेको छ ।
बबईसँगै महाकाली नदीको जलसतह पनि खतराको तहमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार आज बिहान महाकालीमा पानीको सतह १ लाख २४ हजार क्युसेक पुगेको हो । महाकाली नदीमा पानीको सतह १ लाख क्युसेक पुगेपछि खतरा मानिन्छ ।
आज दाङ, बाँके, बर्दिया, चितवन, कैलाली, कञ्चनपुर, काभ्रे, मकवानपुरसहित आसपासका जिल्लामा बहने नदीको जलसतह बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको छ ।
यस्तै हिजो देखि नै कर्णालीका सुर्खेत सल्यान जाजरकोट लगायतका भु भागमा ठूलो बर्षा भएको छ भने भेरी नदिमा पानीको सतह पार गरेको छ।

