उपचारको अभावमा बिरामीको ज्यान गएको दृश्य देखेपछि डाक्टरलाई खुल्ला पत्र

असार २ सुर्खेत -आदरणीय डाक्टर साप अभिवादन तथा नमस्कार ।डाक्टर साप म हजुरको बिरामी प्रतिको ब्यवहार र शैलीका बारेमा केही लेख्ने जमर्को गर्दैछु ,यसको लागि सर्वप्रथम अनुमति चाहान्छु, यो मैले चाहाने मात्रै हो स्वयं हजुर संग यो अनुमति मागे भने अवश्य पनि हजुरको कन्पारो तात्नेछ र अनुमति दिनुहुने छैन त्यसैले अप्रत्यक्ष रूपमा त्यो अनुमति मागेको छु। यदि म गलत छैन भने मैले यहाँ वास्तविकता ओकल्ने प्रयास गर्नेछु।
अनि अर्को कुरा हजुरको कुनै मानहानी हुने कुरा पनि मैले उल्लेख गर्न सक्छु ,त्यसको लागि माफी चाहान्छु।डाक्टर साप कसैले पनि आफ्नो बारेमा आलोचनात्मक रूपमा नकारात्मक पक्षको बारेमा लेख्यो भने स्वभाविक रूपमा राम्रो मान्दैन र लाग्दैन ।
हरेक मान्छेलाई म ठिक छु , मैले गरेका हरेक काम कुराहरु ठिक छन भन्ने लाग्छ त्यो कुरा डाक्टर साप हजुरलाई पनि लाग्न सक्छ र यो अस्वभाविक पनि होईन किनभने हजुर कुनै भगवान नभै एउटा सामान्य नागरिक सरहको  मान्छे हो।डाक्टर साप यो संसारमा राम्रा मान्छे पनि छन् र नराम्रा मान्छे पनि छन।हरेक चिजमा दुइटा कुरा निश्चित छन , यो कुरालाई न विज्ञानले नकार्न सक्छ न धर्मले । 

डाक्टर साप सर्बप्रथम म अहिलेको वातावरणको बारेमा लेख्न गैरहेको छु।म अहिले नेपालकै सबैभन्दा ठुलो र चर्चित शिक्षण अस्पतालको तेस्रो तलाको न्युरो वार्डको बेड न. 42 को आडैमा रहेको एउटा थोत्रो काठको कुर्सीमा बसिरहेको छु।मेरा साथीहरू भनेका अहिले बिरामीहरु र उनिहरुका कुरुवाहरु छन।

हामी बसेको नजिकै साइडमा आइसियु कक्ष रहेको छ।आइसियुमा राखेकाहरु म यहाँ आएदेखी संसारबाट नै बिदा स्वीकृत गराएर अलप भैरहेका छन।उनिहरुका आफन्त कुरुवाहरुको चीत्कार र रोदन प्रत्यक्ष यो पंक्तिकारको कानमा ठोक्किएर मस्तिष्क र मन लाई नै हलचल बनाएर विलीन हुनपुग्छ।

डाक्टर साप तपाईंको ब्यवहार र बोलिले बिरामीको रोग केही हदसम्म निको पार्नुपर्ने हो तर यो पंक्तिकार ले हजुरमा त्यो देखेन दुईदिन बढी बाच्ने बिरामी पनि दुईदिन अगाडि नै स्वर्गबाँस हुने परिस्थिति हजुरको ब्यवहार र बोलीले प्रष्ट देखाउछ ।

डाक्टर तपाईं उमेरको दृस्ठिकोणले यो पंक्तिकार जत्तिकै देखिनुहुन्छ।यो उमेरमा घमण्ड र अहंकार हुनु अस्वभाविक त होईन तर तपाईंले रोज्नुभएको पेशाले तपाईंलाई घमण्ड र अहंकार देखाउन दिदैन।डाक्टर तपाई त बिरामीको लागि एउटा जीवनदाता जत्तिकै महान ब्यक्ति हो , यस्तो महान ब्यक्तिले तुच्छ र छुद्र ब्यवहार र बोली यो क्षेत्रमा प्रदर्सन गर्न मिल्ला र ?

के यसो गर्न मर्यादाले दिन्छ र? डाक्टर के तपाईंका आफन्त छैनन ? के तपाईंका आफन्तहरु कहिल्यै बिरामी हुदैनन् ? के तपाईमा अलिकति पनि मानवीयता भन्ने चिज छैन ? के तपाई पढेर( घोकेर) मात्रै कथित डाक्टर लेख्ने मान्यता प्राप्त गर्नुभएको हो?

के तपाई आफुलाइ संसार कै ठुलो मान्छे ठान्नुहुन्छ? के तपाईंलाई बिरामी हुनुपर्दैन? के तपाईंलाई मर्नु पर्दैन ?कि तपाईं सरकारी क्षेत्रमा भएकोले यो रबाफ देखाउनुभएको हो? यी र यस्तै प्रकारका लाखौं प्रश्न र जिज्ञासाहरु यो पंक्तिकारका मनमा उब्जिएका छन् ।

डाक्टर तपाईंले यो पंक्तिकारको स्वभावलाई बुझ्नुभयो होला भन्ने लाग्छ , त्यसैले त अहिलेसम्म 42 को नम्बरको बेडमा आउने हिम्मत गर्नुभएको छैन ।यो पंक्तिकार कसैलेको रबाफ, प्रभाव र दबाबमा पर्ने खालको मान्छे होइन ,निरीहभएर एस म्यान बन्ने ब्यक्ति पनि होइन ,उल्टो  अन्याय र अत्याचारका विरुद्ध बोल्ने र विद्रोह गर्ने मान्छे हो भनेर ,यदि तपाईंमा थोरै भए पनि आलोचनात्मक चेत छ भने बुझ्नुभयो होला, यदि बुझ्नुभएन भने बुझ्ने ल्याकत बनाउनुहोला यसो गर्न नि सक्नुभएन र चाहानुभएन भने तपाई जस्तो हुस्सु डाक्टर दुनियाँमा अरु कोहि हुने छैन ।

डाक्टर यदि तपाईंले सरकारी पारा देखाउनुभएको हो भने मेरो भन्नू केही छैन ।सरकारी सिस्टमका बारेमा यो पंक्तिकार राम्रै संग जानकार छ।अहिले देशको जस्तो हालत छ , यो शिक्षण अस्पतालको हालत त्यो भन्दा कम छैन ।अहिलेको हाम्रो सरकारको रबैया , कुटिल चालबाजी जस्तो छ , त्यस्तै अवस्था छ यो अस्पतालको छ।

डाक्टर यो देशमा राजधानी काठमाडौं मात्रै पर्दैन अनि सबै धनिहरु मात्रै बस्दैनन।हाम्रो देशमा दुरदराजमा रहेका गाउँवस्तीहरु पनि छन् , दिउँसो मजदुरी गरेर साझको भोक टार्ने गरिबहरु पनि छन।उनीहरुको लागि अस्पताल र उपचार त आकाशको फल आँखा तरि मर भन्या जस्तै हो।

देशमा खान नपाएर भोकभोकै ज्यान गुमाउनुपर्ने गरिबहरुका वास्तविकता डाक्टर तपाईंलाई एकादेशको कथा लाग्नसक्छ।पोषणयुक्त आहारबिहार भएन , मानसिक रूपमा बिचलित हुने खालको वातावरण भयो भने मान्छे रोगी बन्ने हो , यस्ता खालका समस्याहरु लाई उचित ढंगले समाधान गर्ने र आम जनतालाई स्वस्थ जीवनशैलीको बारेमा अभिमुखिकरण कार्यक्रम गर्ने कहिल्यै योजना बनाउनुभएको छ डाक्टर ? मलाई लाग्छ तपाईंको त्यो दिमागले यति कुरा सोच्नु, चरीले दुध दिनु सरह हो।तपाईं जस्ता ब्यक्तिहरु यो ब्यवस्थामा डाक्टर हुनु कुनै नौलो कुरा पनि होईन ।

हाम्रो देशको अवस्था र ब्यवस्था नै त्यस्तै छ दलालहरुले, दलाल उत्पादन गर्ने अनि दलालहरुले दलालहरु कै हित हेर्ने अनि आम सर्वहाराले कहिले कसरी  न्याय पाउने ।उपचार गर्दागर्दै पैसा सकिएपछि गरिबलाई बेडबाट गलहत्याएर निकालेको दृश्य , डाक्टरहरुको वेवास्ताको कारण आकस्मिक कक्ष मै बिरामीको ज्यान गएको दृश्य , बिरामी र बिरामीका कुरुवाप्रती देखाएको ब्यवहारको दृश्य यो पंक्तिकारका आँखा अगाडि झल्झल्ती आइरहेका छन् ।

यो पंक्तिकार यो हस्पिटल प्रवेश गरेको करिब २५ मिनेट पछिबाट , उपचारको अभावमा बिरामीको ज्यान गएको दृश्य देखेको हो आजका दिनसम्म दिनमा ७/८ जना सवहरु अस्पतालको गेटबाट निस्किरहेका छन् ।के यो अवस्थालाई निवारण गर्नु डाक्टर तपाईहरुको कर्तव्य होईन र? २/४ को उपचार गर्दागर्दै ज्यान जानू त्यसलाई अस्वभाविक मानिदैन।

डाक्टर साप सबै डाक्टर तपाई जस्ता पनि छैनन् ।भगवान रुपि डाक्टरहरु पनि छन जसको ब्यवहार र वचन ले नै बिरामीको आधा रोग निको पारिदिन्छ।डाक्टर प्रबिन भट्टराई,डाक्टर सन्जिब गौतम  र डाक्टर गिता सुवेदी जस्ता डाक्टरहरु पनि हजुर संगै कार्यरत हुनुहुन्छ , उहाँहरुको ब्यवहारलाई सुक्ष्म तरिकाले अध्यन गर्नुहोस् त अनि तपाईंले आफू भित्र भएको दम्ब , घमण्ड र अहंकारको तुजुक प्रष्ट रूपमा देख्न सक्नुहुनेछ।

डाक्टर साप मैले यहाँको ब्यवस्थापनको पाटो, भौतिक संरचना सबैको एक चरण अध्ययन गरिसकेको छु।यहाँ भित्र को आयो को गयो पत्तै छैन ।अस्ति मात्रै हामी भएकै फ्लोर बाट चोरले एकजना महिलाको मोबाइल चोरेर भागेछ।

आउनैको दिन  एम्बुलेन्स चालकलाई ट्याक्सी चालकले आकस्मिक कक्षकै अगाडि कुटेको दृश्य आदिइत्यादि घटनाले यो सरकारी अन्तरगतको ब्यवारिसे अस्पताल हो भन्ने कुरा प्रष्ट पार्छ।यो पंक्तिकार ललितपुरको पाटन अस्पतालमा पनि बस्यो तर त्यहाँको व्यवस्थापन , भौतिक संरचना , डाक्टरहरुको ब्यवहार यहाँको संग तुलना गर्न नमिल्ने किसिमको छ।

डाक्टर साप जिन्दगीको यात्रामा कतिखेर कस्ता घटना घट्छन एकिन नै हुँदैन ।असहज र कठिन परिस्थितिको सामना गर्दै चल्ने यात्रा नै जिन्दगी हो।जिन्दगीमा सुनौला सपनाहरू देख्दादेख्दै अनिश्चित यात्रा कुनै बिन्दुमा पुगेर निश्चित बनिदिन्छ र सदाका लागि यात्रा विलीन हुनपुग्छ।

जिन्दगीको यात्रा अनिश्चित छ तथापि एक मुट्ठी सास रहुन्जेल मान्छे जीवनरक्षाको निमित्त हर कुरा गर्न तयार हुन्छ।कोहि पनि मान्छे मृत्यु शैयामा बस्न चाहदैन।तर पनि जब यात्रा टुंगिन पुग्छ ,अगाडि बढने कुनै मार्ग हुँदैन अनि मानिसको जीवन सकिन्छ।

डाक्टर साप यहाँ बिरामी रहरले आएको हुँदैन तर तपाईंको रबाफ रहरले आएको हो , यहि भ्याली भित्रकै हो जस्तो देखिन्छ।यहाँ एउटा गरिब बाच्ने इच्छा बोकेर हुम्ला को एउटा विकट गाउँबाट साठी हजार भाडा तिरेर आएको कुरा तपाईलाई के थाहा ?त्यसैले डाक्टर साप तपाईं आकाशमा मात्रै फिलिली गर्ने काम नगर्नुहोस् ,एकपटक धर्तीमा ओर्लिनुहोस , मिठो बोलीवचनका साथ दिनदुखी बिरामीहरुको सेवा गर्नुहोस् अनि मात्रै तपाईं एउटा सर्बोच्च डाक्टरको रूपमा कहलाउनुहुनेछ अनि सबैले तपाईंको जयजयकार गर्नेछन् ।

तपाईंको सुभचिन्तक बिरामी कुरुवा

किशोर सुवेदी ( महाराजगन्ज काठमाडौं )

Comments