शिक्षक खुल्ला प्रतिस्पर्धामा जानु पर्छ ?

फागुन २१, काठमान्डौ – राहत शिक्षकहरुको नाममा भएको आन्दोलनप्रति नेकपा निकट विद्यार्थी संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अनेरास्ववियुकी अध्यक्ष नविना लामा र अनेरास्ववियू (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङले मंगलबार एक विज्ञप्ति जारी गर्दै संघीय शिक्षा ऐन जारी हुने अन्तिम तयारी भइरहेको बेला शिक्षकहरुबाट भएको आन्दोलनको विरोध गरेका छन् ।
जारि विज्ञप्तिमा भनिएको छ, संघीय शिक्षा ऐन जारी हुने अन्तिम तयारीमा छ ।उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदनको स्पिरिट बमोजिमको शिक्षा ऐन आउनुपर्छ भन्ने हाम्रो दृढ मान्यता छ’,।

शिक्षा क्षेत्रमा देखापरेका तमाम विकृति हटाउँदै शिक्षाको मौलिक हकलाई कार्यान्वयन गर्ने र सार्वजनिक शिक्षाको शिर उठाउने प्रावधान सुनिश्चित हुने गरी शिक्षा ऐन आउनुपर्छ ।

देशभर रहेको करिव चालिस हजार राहत शिक्षक दरबन्दीलाई स्थायी दरबन्दीमा परिणत गर्दै (८० प्रतिशत खुल्ला प्रतिस्पर्धा र २० प्रतिशत आन्तरिक ) प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने प्रस्तावित शिक्षा ऐनको प्रावधान रहेको छ ।
तर,यही प्रावधानका विरुद्ध राहत शिक्षकहरुको नाममा शैक्षिक सत्रको उत्तरार्ध र पेचिलो समयमा कक्षाकोठा छोडेर आन्दोलन गरिनु घातक भएको विद्यार्थी संगठनले ठहर गरेका छन् ।
शिक्षा जस्तो संवेदनशील क्षेत्रमा पटकपटक स्वतः स्थायीको माग गरेर आन्दोलन गरिनु स्वत शिक्षकहरुले खुल्ला प्रतिस्पर्धामा जान डराउनु जस्तो लाजमर्दो अरु के हुन सक्छ र ?
विज्ञप्तिमा लेखिएको छ। शिक्षालाई जागिर खाने थलोको रुपमा मात्रै नबुझी शिक्षकको पेशागत मर्यादा, महत्वलाई आत्मसाथ गर्दै स्वतः स्थायीको मागबाट पछि हट्न र खुल्ला प्रतिस्पर्धालाई सहर्ष स्विकारेर अगाडि बढ्न विद्यार्थी संगठनले आन्दोलनरत शिक्षकहरुलाई आग्रह गरेका छन् ।
विगतमा भएका गलत निर्णयलाई नजिरको रुपमा स्थापित गर्ने अर्को गल्ती नगर्न पनि विद्यार्थी संगठनले सरकारलाई ध्यानाकर्षण गराएका छन् ।
