जबरजस्तीकरणीको कसूरमा किटानीपछि निलम्बित एसएसपी सौरभ राणालाई पक्राउ गर्ने तयारी,
माघ १७ ,काठमान्डौ – नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई पक्राउ गर्ने तयारी गरिएको छ ।
राणाविरुद्ध बिहीबार बेलुकी जबरजस्तीकरणीको कसूरमा किटानी जाहेरी परेपछि पक्राउ गर्ने तयारी थालिएको हो ।
राणा संघीय प्रहरी इकाइ कार्यालय, धरानमा कार्यरत छन् राणाले एक महिलामाथि यौन दुर्व्यवहार गरेको उजुरी परेपछि उनलाई निलम्बन गरिएको हो ।
यसअघि कार्तिकमा धरानकी अन्दाजी ३७ /३८ एक महिला राणाविरुद्ध उजुरी लिएर गृह पुगेकी थिइन् ।
उनले गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृह सचिव प्रेमकुमार राई लगायतलाई भेटेर एसएसपीबाट आफू पीडित बनेको दाबी गरेकी थिइन् ।
राणाले भने आरोप अस्वीकार गर्दै आएका छन् । गृह मन्त्रालयका प्रवक्ता सह–सचिव केदारनाथ शर्माका अनुसार उनलाई बिहिबार निलम्बन गरिएको र पक्राउ गर्ने तयारि रहेको बताए ।
अहिले पीडित महिलालाई स्वास्थ्य परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।
बिहीबार ढिला गरी जाहेरी परेकाले शुक्रबार मात्र स्वास्थ्य परीक्षण गरिएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय, सुनसरीका एक अधिकृतका अनुसार जाहेरी दर्ता भइसकेको छ । अब अदालतबाट पक्राउ गर्न अनुमति माग्ने तयारी भइरहेको छ ।