गणतन्त्र दिवसमा रास्ट्रपतिद्वारा २४१ जना कैदीको कैद मिनाहा,

जेठ १५ ,काठमान्डौ -गणतन्त्र दिवसको अवसरमा सरकारले २४१ कैदीको कैद सजाय मिनाहा गरेको छ।

यी मध्ये सरकारले ८ व्यक्तिहरुको कैद, दण्ड जरिवाना, विगो, सर्वस्वलगायतको सजायँ माफी पनि गरिएको छ।सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद सजायँ मिनाहा र दण्ड जरिवाना माफी दिएकी हुन् ।

राष्ट्रपति कार्यालय शितल निवासबाट जारी विज्ञप्तिमा बिभिन्न अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायबाट बिभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद, दण्ड, जरिवाना, विगो, सर्वस्वलगायतको सजाय माफी भएको उल्लेख छ ।

सरकारले केन्द्रीय कारागार, डिल्लीबजार करागार,नख्खुसहित देशका विभिन्‍न करागाराबाट कैदीहरुको बाँकी कैद सजाय मिनाहा गर्न राष्ट्रपति कार्यालयलाई सिफारिस गरेको थियो ।

गणतन्त्र दिवस ,प्रजातन्त्र दिवस र असोज ३ गते संविधान दिवसको अवसर पारेर पनि कैदीबन्दीहरुको सजाय मिनाहा गरिँदै आएको छ ।

गृह मन्त्रालय स्रोतले विभिन्‍न अपराध अभियोगमा अदालतबाट दोषी ठहर भइ कैद भुक्तान गरिरहेकामध्ये ‘नेगेटिभ लिस्ट’मा नपरेका बन्दीलाई रिहा गर्न हिजो सरकारसामी सिफारिस गरेको थियो ।

बलात्कार,भ्रष्टाचार,राज्य विरुद्धको अपराध लगायत आधा दर्जन कसुरमा दोषी ठहरिएका बन्दीलाई कैद मिनाहा गर्न नपाइने व्यवस्था कारागार व्यवस्था ऐन २०२०मा उल्लेख गरिएको छ ।