मेरा बा: अजम्बरी”
भदौ ५ ,काठमान्डौ – ,” मर्न त कसलाई पो मन लाग्छ र, तर त्यो मृत्युको ढोका एकदिन अवश्य खुल्दछ अनि मानिसको अन्त्य हुन्छ।”
मैले माथी त्यो वाक्य लेखी केही कुरा लेख्न खोजे , आज भन्दा बीस दिन अगाडि , त्यो कहालीलाग्दो र उराठिलो दिन, हाम्रो सर्वस्व हरण गर्ने दिन भदौ ५ गते बिहीवार को पनि बिहानी प्रहर इतिहासमै म यस धर्तिमा रहुन्जेल मलाई पिडाको पहाड बनी अगाडि उभिएको छ।
आजको दिनसम्म दिमागले सहि तरिकाले काम संचालन गरिराखेको पनि छैन ।आँखाबाट कुनै दिनपनि खाली छैन आँसु झर्न, दिनप्रतिदिन मेरो हृदयमा काडा रोपिएका छन, मुटु नै छियाछिया भएको छ।मेरो प्रत्येक समय हृदय दुख्नमा नै विवश छ।
पापी संसार र यहि पापी संसार मा जन्मिएको पापी मान्छे म खै किन यस्तो पिडा खप्नु परेको छ।पिडैपिडा को संसारबाट पिडा को बन्दुक भिरेर पिडा संगै लडन तम्तयार भएको मान्छे म।साच्चिकै पिडाको भक्त म, दुखियाको पात्र म।
किन हो खै कुन्नी पिडाले गरिबलाई नै पिल्साउने रहेछ।पिडाको पहाड नै भए पनि छिचोल्दै संघर्ष गर्दै दुनियाँ बदल्ने अभियान मा समाहित हुनैपर्छ ।
दुर्भाग्यवश त्यो दिनाइपुगेको थियो , मेरो जन्मदाता , भाग्यदाता मेरो बा लाई संसार बाट टिपि लाने दिन।बा लाई अब मैले सम्झनाको पानामा कोर्नु सिवाय अर्को केही कुरा रहेन।
हुन त विज्ञान परिवर्तनशिल छ, सजिव जति सबैको एक दिन निश्चित अन्त्य छ, ढिलो छिटो होला ।साच्चिकै सजिवको अन्त्य नहुने भए ब्रह्माण्डको अस्तित्वको कुरा पनि त रहेन।यो पृथ्वी इकोसिस्टमकै आधारमा चलिराखेको छ।
धर्तिमा जन्म भयो त मृत्यु अनिवार्य स्विकार गर्नुपर्ने कुरा पनि त हो।जन्म हुदा सबैको मन , मस्तिष्क हर्षउल्लासले छाएको हुन्छ भने मृत्यु हुदा मन , मस्तिष्क शोकमग्न , भावविह्वल र अंगभंग भएको हुन्छ।
यो प्रकृतिको नियम नै हो कि क्यारे , जन्म पछी मृत्यु सङसंगै हिड्ने साथी हो।एकको अनुपस्थितिमा अर्काको अस्तित्वको सिमा नै रहदैन ।
तर मानव हुनुको नाताले मृत्युको ढोका नखुलिदिएको भए हुने थियो भन्ने लाग्छ।मान्छेले नचाहादा नचाहादै बेग्लै संसार बाट यमराज आइ मृत्युको ढोका खोलिदिन्छ।जब ढोका खुल्छ अनि सबैलाई रुवाएर जानैपर्छ ।
मेरा बा ले पनि हामी सबैलाई रुवाएर जानुभयो ।एक्लै जानुभयो हामी कसैलाई साथी लग्नुभएन।उसो त त्यहाँ मेरा बा का साथी मेरा बाजे , बज्यै , जेठाबा अनि आफन्त थुप्रै छन् होला ।जो मेरा बा भन्दा पहिल्यै त्यो बेग्लै संसारमा गैसकेका छन् ।
मेरा बा मेरा मात्रै बा होइनन् हामी ५ भाइ र ४ बहिनी का बा हुन।मेरा बा ले यो संसार मा रहुन्जेल थुप्रै संघर्ष गर्नुभयो ।बा ले हाम्रा लागि धेरै गर्नुभयो तर बा का लागि हामीले केही गर्न नपाउदै छोडेर जानुभयो ।
हामी सबैलाई खान, लाउन ,पढाउन लेखाउन बा ले कति पसिना खर्च गर्नुभयो म कल्पना पनि गर्न सक्दिन।तत्कालीन अवस्था मा मेरा बा भारतीय सेना मा कार्यरत हुनुहुन्थ्यो ।जसले गर्दा बा ले ६ /६ महिनामा पेन्सन बुझ्नुहुन्थ्यो।
त्यसैले पनि सम्भव भयो झन्डै हामी १ दर्जन भाइबहिनी को पढाईलेखाइ ।बा ले सुनाउनुहुन्थ्यो पाकिस्तान संग जम्मु कस्मिर मा लडाइँ लडेको कुरा।भारतीय सेना हुँदा थुप्रै लडाइँ का मोर्चाहरुमा सहभागी भैयो तर पनि बाचियो भन्नुहुन्थ्यो मेरा बा।
युद्धको मैदान बाट बाच्न सफल एक गोर्खाली मेरा बा ले मृत्यु लाई जित्न सक्नुभएन । बा लाई विगत ३/४ वर्ष अगाडि बाट दम ले अलि सताएको थियो।
नियमित दम को औसधि सेवन गरिराख्नुभएको थियो।दम बढदा बित्तिकै अस्पताल लैजानुपर्ने त्यसैले बा पछिल्लो समय प्रायः सुर्खेत मै बस्नुहुन्थ्यो।बा संगै सुर्खेत मा म , माल्दाइ ,भाउजु , अनि लुना दिदी बस्थ्यौ। बा संग थुप्रै कुराकानी हुन्थ्यो।
मेरा बा ले कुरा गर्न रुचाउनुहुन्थ्यो।म मेरा बा लागि साथी जस्तै थिए ।बा लाई नुहाइदिने गाइको घ्यू घस्दिने काम गर्थे म।मेरा बा ले भन्नुहुन्थ्यो कान्छा मलाई मर्ने बेलामा दैलेख लग्दिनु उतिगर्दै यहि मरिहालेछु भनेपनी दैलेख नै लगेर जलाइदिनु।
तर बा को त्यो सपना मैले पूरा गर्न सकिन।बा संगै थिए म , परीक्षा सकेर जेठ मा म दैलेख घर आए।बा ले पनि जान्छु भन्नुभएको थियो तर गाउँको पिडा सबैलाई थाहा छ अस्पताल छैन ।
त्यसैले अब भदौमा पेन्सन बुझ्ने अनि दशै मा जाने म छिट्टै रोपाइँ सकेर फर्किन्छु बा भनेर म दैलेख लागे त्यो दिन नै मेरा बा संगको अन्तिम भेट भयो।म घर आए घरमा थुप्रै काम गर्नुपर्ने ।प्रायः जसो बा संग फोनमा कुराकानी भैराख्थ्यो।
बा ले नै आफै फोन गर्नुहुथ्यो के गर्दैछस कान्छा भन्नुहुथ्यो जुन आवाज अहिले पनि कानमा गुन्जिरहेको छ ।बाले पेन्सन बुझ्ने भदौको महिना पनि आयो अवसोच बाले २०७१ साल भदौको पेन्सन बुझ्नै नपाई धर्तिलोप हुनुभयो।
बा संग अघिल्लो दिन फोनमा कुराकानी भएको थियो जतिखेर बा ले आज मलाई बिसन्चो होला जस्तो छ कान्छा भन्नुभएको थियो अनि बा म भोलि ५ गते सुर्खेत आउदैछु भने अनि केहिबेर कुराकानी पछि बा ले फोन राख्नुभयो।
बा को त्यो बोली नै मेरो जीवन को लागि अन्तिम बोली भयो।भोलिपल्ट बिहानै म सुर्खेत जाने योजना मा थिए तर लुना दिदी ले खाना खएर बजार सम्म संगै जाम्ला भनेपछि हुन्छ भनेर म भदौ ५ गते बिहानै परवारि बादर कुर्न र गोरु लाई घास काट्नको लागि गए जतिखेर बिहान को ५ बजेको थियो।
म वारि मा पुगेर घाँस काट्दै थिए कान्छी आमा ले बुवा लाई कस्तो छ कान्छा अहिले भनेर सोध्नुभयो अनि मैले ठिकै हुनुहुन्छ भने फेरि उहाँले बुवा साह्रै हुनुहुन्छ अरे घर जा त भन्नुभयो म हतार घर पुगे ।
घरमा जादा आमा , दाइ , दिदी , बहिनी अनि भान्जी रुदै हुनुहुन्थ्यो ।मैले बा साह्रै बिरामी मात्रै हुनुभको होरे भने अनि आमा ले रुदै अब तेरा बा रहेनन् हाम्रा सामु भन्नुभयो , अनि मात्रा म ढुक्क भए बा ले पक्कै पनि हामीलाई खबरै नगरी छोडेर जानुभएछ।अनि मात्रै म एक्कासि मन भक्कानिएर आयो।
हामी त्यस्तै अवस्था मा रुदै सबै जना कान्छी बहिनी र भान्जी लाई घर मा छोडदै , सुर्खेत जाने भन्दै हिड्यौ।
अवसोच हामी दैलेख बजार गैपुग्दा मेरा बा लाई घरदेखी भेरी तिर हिडालिसकेछन।झन मुटु भक्कानिएर आयो।आमा, दाइ, दिदी हरु झन रुन थाल्नुभयो ।
बा ले भनेको कुरा पूरा गर्न त सकिएन सकिएन देहत्याग गरिसकेका मेरा बा को भौतिक शरीर पनि देख्न पाइएन।
हामी ९ सन्तानका एक्ला बा हामीलाई छोडेर धर्तिलोप हुनुभयो।बा संग म सानोमा गोठाला जान्थ्ये मेरा बा उहिले देखि साथी जस्तै हुनुहुन्थ्यो हामी थुप्रै कुरा गर्थ्यौ।बा ले आफ्ना आत्मवृतान्त सुनाउनुहुथ्यो।
बा दुई वर्षको हुदा हाम्री हजुरआमा ले बा लाई छोडेर धर्तिलोप हुनुभएछ।बा ले आमाको अनुभुती गर्न पाइन कान्छा भन्नुहुथ्यो।बा चौध वर्षको हुदा हजुरबा ले छोडनु भएछ।हजुरबा को क्रियाकाज सानैमा गरेको अनुभव बा ले सुनाउनुहुथ्यो।
बा ले थुप्रै संघर्ष का सिडिहरु पार गर्नुभयो।उहिले नुनतेल ल्याउनको लागि हाट जानुपर्ने , हटारु संगको यात्रा र यात्रामा भएका रमाइला तथा दुखका क्षणहरुका बारेमा बा ले सुनाउनुहुथ्यो।
बा सृष्टिकर्ता हुनुहुन्थ्यो हाम्रा लागि थुप्रै चुनौती का पहाडहरु छिचोल्दै आउनुभयो ।
बा भौतिक रूपमा अब कहिल्यै नआउने गरि बिदा हुनुभयो।
यो प्रकृतिको नियम पनि हो। मेरा बा ले मात्रै होइन सबैका बा ले छोडेर जानैपर्छ, कसैका बा छिटो र कसैका बा ढिलो यतिमात्र हो। यो विज्ञानको नियम हो यसलाई कसैले चाहेर पनि भंग गर्न सक्दैन ।
यो कुरा राम्रो संग बुझ्दाबुझ्दै पनि आखिर मन नै त भक्कानिहाल्दो रहेछ।बा हजुर सधैं मन मस्तिष्क मा हुनुहुन्छ ।बा हजुर ले भन्ने कान्छा शब्द मेरो कानमा सधैं गुन्जिरहनेछ।बा भौतिक रूपमा हामी माज नभए पनि आत्मिक , बैचारिक रूपमा सधैं हाम्रो सामु रहनुहुन्छ।
मेरा बा हजुर प्रती हार्दिक श्रद्धासुमन!!!
किशोर सुबेदी
सल्लेरी २ दैलेख
२०७१/०५/२४
( डायरी मा सुरक्षीत मेरा बा अजम्बरी)