सुकुम्बासी दलित बस्तीमा सरकारको ज्यादती डोजर लगाएर सखाप ,
असोज ५ ,जनकपुर – जनकपुरधाम उपमहानगरपालिकाले दलित समुदायको घरमा डोजर चलाएर विस्थापित गरीदिएको छ। उपमहानगरले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ स्थित धर्मवान टोलमा दर्जनौँ डोम परिवारको घर भत्काएको हो ।
सडक छेउको ऐलानी जग्गामा दलितहरुको बस्ति छ ,उनीहरुलाई व्यवस्थापन नै नगरी उपमाहानगरपालिकाले जबरजस्ती डोजर चलाएको छ। कोरोनाको महामारीमा अहिले उनीहरु बास बिहिन भएर विचल्लीमा अपरेका छन्।
जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साहले सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेपनि अहिलेसम्म कुनै सुनुवाई नभएको दलितबस्तीले बताए।
केही महिनापूर्व सडक विस्तारका लागि जग्गा खाली गराउने सूचना आएपछि स्थानीयवासीले जनकपुरधाम उपमहानगरपालिका, सडक डिभिजन कार्यालय धनुषा, जिल्ला प्रशासन कार्यालय धनुषा, जिल्ला प्रहरी कार्यालय धनुषा लगायतमा बसोबासको व्यवस्थापन गर्न वा घर नभत्काउन आग्रह गर्दै ज्ञापनपत्र बुझाएका थिए ।
कोरोनाको महामारीमा सुकुम्बासीलाई जग्गा उपलब्ध नगराई उल्टै बस्ने बाससमेत उजाड पारेपछि चौतर्फी सरकारको आलोचना गरिएको छ।
सुकुम्बासीलाई तत्काल जग्गा र क्षतिपुर्ति उपलब्ध गराउन सरोकारवालासंग माग गरिएको छ। अब सुकुम्बासीहरु सडकको छेउमा त्रिपाल बिच्छाएर बस्नुभन्दा अन्य कुनै विकल्प नरहेको उनीहरु बताउछन।