कस्तो अचम्म ! सडकमै बन्यो महिला जेसिजको सप्ताहव्यापी कार्यक्रमको स्टेज

सुर्खेत, १२ जेठ ।
शनिबार वीरेन्द्रनगरको मुख्य चोक वीरेन्द्रचोक कब्जामा थियो । सुर्खेत महिला जेसीजले सप्ताहव्यापी कार्यक्रम अन्र्तगत आयोजना गरेको ‘स्लो स्कुटी ड्राईभ’ प्रतियोगिताको कारणले गर्दा सनिबार वीरेन्द्रचोक कब्जामा थियो । वीरेन्द्रचोकको मूल सडकमै मञ्च ठड्याएर यो कार्यक्रम संचालन गरियको थियो । मुल सडकमै कार्यक्रम आयोजना गर्दा सडक चार घण्टासम्म अवरोध भयको थियो । महिला जेसीजले घण्टौंसम्म सडक अवरोध गरिरहँदा उनीहरुलाई जनप्रतिनिधि, प्रहरी प्रशासन र स्कुटीका स्थानीय विक्रेता तथा कम्पनीहरुले झनै हौंस्याएका थिए । यात्रुलाई मर्का पर्ने गरी सडक अवरोध गर्दा यसले नागरिकलाई कति सास्ती दिन्छ भन्ने उनीहरुलाई के को मतलब ?

वीरेन्द्रचोक नै किन रोजियो ?किनकी यस्ता कार्यक्रम गर्न वीरेन्द्रनगरमा थुप्रै स्थानहरु छन्. त्यतिका खुल्ला चौर छोडेर गाडी गुड्ने सडकमै किन बनाइयो मञ्च ? किनकी सडक कब्जा नगरे अरुको ध्यान खिच्न सकिन्न । स्कुटीको विज्ञापन हुँदैन । र, रवाफ देखाउन पनि पाइँदैन । यीनै स्वार्थ र गलत मानसिकताका कारण पछिल्लो समय राजनीतिक दलदेखि सामाजिक संघ÷संस्था र व्यवसायिका कार्यक्रम गर्ने रोजाइँको पहिलो स्थान सडक नै बन्ने गरेको छ ।
अरुलाई व्यक्तित्व र क्षमता विकासको सीप सिकाउछौं भन्दै दुहाई दिने जेसीजले पनि खुल्ला चौरहरु छाडेर सर्वसाधारणले आवत–जावत गर्ने सडकमै कार्यक्रम गर्न उपयुक्त ठान्यो । उसको त्यो काममा केही व्यवसायी र जनप्रतिनिधिलेसमेत जमेरै साथ दिए । आफूले घण्टौ्रं सडक अवरोध गर्दा सर्वसाधारणलाई सास्ती हुन्छ होला भन्ने सम्मको अंकल नराख्ने जेसीजले अरुलाई के व्यक्तित्व विकास गर्न सिकाउँला ? मानौं, उनीहरुका लागि सडक नै मञ्च हो, सडकमा आवत–जावत गर्ने नागरिकको अधिकार खोसिए पनि खोसियोस् !