राष्ट्रियसभा उपनिर्वाचनको मतदान शुरु
जेठ १७ ,काठमान्डौ – लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त भएको पदमा उपनिर्वाचन हुँदै छ ।
मतदान कार्य बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म निर्धारण गरिएको छ । निर्वाचनका लागि दाङको घोराहीमा तीन वटा मतदान स्थल तोकिएको छ ।
प्रदेशसभा सदस्यका लागि (क), गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि (ख) र कोभिड सङ्क्रमितका लागि (ग) मतदान केन्द्र तोकिएको हो ।
निर्वाचनमा नेकपा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे उम्मेदवार रहेका छन् । उनलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी(जसपा) र राष्ट्रिय जनमोर्चा पार्टीका साझा पार्टीले समर्थन गरेको छ ।
उपनिर्वाचनमा लुम्बिनी प्रदेशसभा सदस्य ८३ जना तथा लुम्बिनी प्रदेशअन्तर्गतका पालिका प्रमुख र उपप्रमुखहरु २१७ गरी जम्मा ३०० जना मतदाता छन् ।
निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार मतदान सकीएलगतै भर्चुअल माध्यमबाट मत गणना शुरु हुने र आजै मतपरिणाम सार्वजनिक हुने छ।