एमालेको महाधिवेशन नजिकिदै गर्दा एमाले नेता पूर्वमन्त्रीको राजीनामा

रुपन्देही – नेकपा एमालेको महाधिवेशन नजिकिदै गर्दा एमाले नेता पूर्व कृषि राज्यमन्त्रीले राजीनामा दिएका छन्। एम्मालेको मंसिर १० गते चितवनमा महाधिवेशन हुन गईरहेको बेला एमाले नेता ओमप्रकाश यादव गुल्जारीले शनिबार पार्टीको सम्पूर्ण पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

मायादेवी गाउँपालिका-६ शिवपुर मर्चवार मा पत्रकार सम्मेलनको आयोजना गर्दै यादवले एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ४ को सह इञ्चार्ज पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

नेता यादवले महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचनमा भएका गतिविधिबारे असन्तुष्टि जनाउदै आफू एमालेको साधारण सदस्य समेत नरहेको बताएका हुन्। उनले प्रतिनिधि छनोटका क्रममा भएका गतिविधिको छानबिन र समीक्षा गर्न समेत नेतृत्वसमक्ष आग्रह गरेका छन् ।

यादवले आफुलाई जिल्लामा काम गर्न पार्टी अध्यक्ष शिवराज सुवेदीबाट असहयोग भएको आरोप समेत लगाएका छन् । उनले आफुलाई असहयोग भएको दाबी गर्दै ३ महिनाअघि नै पार्टी उपमहासचिव विष्णु पौडेललाई जानकारी गराएको पत्रकार सम्मेलनमा बताएक छन् ।