बालिका बलात्कार आरोपमा सैनिक हवल्दार पक्राउ

काठमाडौं- बालिका बलात्कार आरोपमा नेपाली सेनाका एकजना हवल्दार पक्राउ परेका छन्। कञ्चनपुर घर भएका गोविन्द सिंह विष्टलाई महानगरीय अपराध महाशाखाले कोटेश्वरबाट पक्राउ गरेको हो ।

रामेछाप घर भएकी १३ बर्षीय बालिकालाई कार्तिक ३० मा विष्टले कोटेश्वरस्थित एक लजमा राखेर बलात्कार गरेका थिए। उनले बालिकालाई लगनखेलबाट फकाएर कोटेश्वरमा ल्याई लजमा रातभर बलात्कार गरेर विक्षिप्त अवस्थामा छाडेर उनी भागेको अपराध महाशाखाका एकजना अधिकृतले रंग दर्पणललाई बताए।

३६ वर्षीय विष्ट ललितपुरको लेलेस्थित सैनिक गणमा कार्यरत छन् । उनी अहिले भक्तपुरको नगरकोटमा तालिम गरिरहेका थिए । बुधवार पक्राउ गरेर सैनिक हवल्दारलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखिएको छ ।

किशोरीले उनीविरुद्ध बलात्कारको उजुर गरेकी छिन् । उनलाई कारबाहीको लागि अगाडी बढाईएको अपराध महाशाखाले जनाएको छ।