माओवादी नेता पुनको स्वास्थ्यमा सुधार

मंसिर १३ ,काठमान्डौ – नेकपा माओवादी केन्द्रका नेता स्थायी समिति सदस्य वर्षमान पुनको स्वास्थ्यमा क्रमिकरुपमा सुधार देखिएको छ । गत शुक्रबार थाइल्याण्डको बैंककबाट थप उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेनजेन लगेर उपचार सुरु गरिएको थियो ।

उपचार सुरु गरेपछि उनको स्वास्थ्यमा प्रारम्भिक सुधार देखिएको सँगै रहेकी नेता पुनकी पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीले जानकारी दिइन् । विशेष गरी अमलपित्त बिग्रिएका कारण वान्ता, शरीर चिलाउने, निद्रा नलाग्ने, खान मन नलाग्ने, शरीर सुन्निने जस्ता समस्या देखिएका थिए ।

उपचारमा संलग्न चिकित्सकले नेता पुन खतरामुक्त रहेको र केही समयपछि निको भएर नेपाल फर्कन सक्ने जानकारी दिएको नेता पुनका पूर्वस्वकीय सचिव तथा माओवादीका केन्द्रीय सदस्य दुर्गा चापागाईंले जानकारी दिए।