ट्याटु खोपाउन गएका एक पुरूषको हेर्दा हेर्दै मृत्यु

पुष २९ ,काठमान्डौ – भक्तपुरमा ट्याटु खोपाउन गएका एक पुरूषको मृत्यु भएको छ। मध्यपुरथिमी नगरपालिका-१ लोकन्थली घर भई काठमाडौंको कोटेश्वर बस्ने ३३ वर्षीय बिराज खड्काको मृत्यु भएको हो।

गएराति साढे ९ बजे लोकन्थली मनहरा आँखा अस्पताल नजिकै रहेको आरूष मल्लले सञ्चालन गरेको इन्क ट्याटुमा ट्याटु खोपाउन गएका थिए। अरुले ट्याटु खोपाईरहेको बेला उनि लाईनमा थिए।

उनको पालो आएको थिएन तर उनि बेहोस भएपछि तत्कालै केएमसी अस्पताल सिनामंगलमा लगिएपनि राति १२ बजे उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

बेहोस भएपछि उनको परिवारलाई पनि जानकारी गरिएको थियो। यस घटनाको अनुसन्धान महानगरीय प्रहरी वृत्त थिमीले गरिरहेको जनाएको छ। खड्का दमका बिरामी थिए।

उनले ‘इनहेलर’ समेतको प्रयोग गर्ने गरेको मध्यपुर थिमी वृत्तले जनाएको छ। उनी धेरै मादक पदार्थ सेवन गर्ने गरेको हुँदा केही समय सुधार केन्द्रमा समेत बसेर आइसकेको प्रहरीले जनाएको छ। हाल पोष्टमार्टमको लागि शव केएमसी अस्पतालमा राखिएको छ। पोष्टमार्टमपछि नै मृत्युको कारण थाहा हुने प्रहरी नायब उपरीक्षक पाण्डेले बताए।