स्थानीय तहको चुनाव जेठ् ४ मा गर्न निर्वाचन आयोगको प्रस्ताव

माघ १८, काठमाडौं – निर्वाचन आयोगले आगामी जेठ ४ गते स्थानीय तहको चुनाव गर्ने प्रस्ताव सरकारसमक्ष प्रस्ताव गर्ने भएको छ ।निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज दिउँसो ३ बजे हुने छलफलमा आयोगले प्रस्ताव पेस गर्ने भएको हो।

आजको छलफलमा आयोगले प्रस्ताव गरेको मितिमा प्रधानमन्त्रीले सहमति जनाइसकेपछि त्यसको दुई दिनभित्र निर्वाचन आयोगले गृह मन्त्रालयमा चुनावको मितिसम्बन्धी प्रस्ताव पेस गर्ने छ।

आयोगको सो प्रस्ताव गृह मन्त्रालयले क्याबिनेटमा पेस गरेपछि चुनावको मिति औपचारिकरुपमा तय हुनेछ ।

स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ जेठसम्म मात्र रहने र त्यसअघि नै निर्वाचन गर्नुपर्ने भन्दै निर्वाचन आयोगले सरकारलाई दबाब दिदै आइरहेको छ ।प्रधानमन्त्री देउवाले यसअघि पनि आगामी जेठ ४ मा स्थानीय तहको निर्वाचन गर्नुपर्ने भन्दै गठबन्धन पार्टीका नेताहरूसँग छलफल गरेका थिए ।