रुकुम पश्चिमको एक होटेलमा महिला हत्या गर्ने लोकेन्द्र विक पक्राउ

कार्तिक ७

रुकुम – रुकुम पश्चिमको सदरमुकाम मुसीकोटको होटेल सत्कारमा भएको महिलाको हत्या आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ।

सानीभेरी गाउँपालिका ,९ सिम्ली बस्ने ३३ बर्षिय लोकेन्द्र बिक भनिने लोकबहादुर बिकलाई प्रहरीले मंगलबार पक्राउ गरेर बुधबार सार्वजनिक गरेको हो ।

मुसीकोट नगरपालिका ७ साँखकी २८ वर्षिया भावना बिकको हत्या गरेको आरोपमा लोकबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरिक्षक (डिएसपी) नमराज भट्टराईले जानकारी दिए।

मुसीकोट नगरपालिका ,१ खलङगामा रहेको होटेल सत्कारको कोठा नम्वर १ मा मंगलबार बिहान भावना मृत अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

मृतकको घाँटि रेटेर हत्या गरिएको डिएसपी भट्टराईले बताए ।मुसीकोट नगरपालिका ,१ छिङस्थित माईती घरमा बस्दै आएकी मृतक बिक र हत्या ओरापी लोकबहादुर बिच अनैतिक सम्बन्ध रहेको र आर्थिक लेनदेनको बिषयमा विवाद भएपछि हत्या गरिएको अनुसंधानमा खुलेको हो।

प्रहरीले घटनास्थलबाट रगत लागेको धारिलो चक्कु, मोबाईल, चक्कुको खोल र प्रतिवादीको घरकोठाबाट नगद ८५ हजार ८३५ रुपियाँ बरामद गरेको जनाएको छ ।

उनिहरुले त्रिवेणी गाउँपालिकाका विकास केसीको नामबाट होटेल बुक गराई नातामा श्रीमान् श्रीमतीको सम्बन्ध उल्लेख गरेका थिए । तर उनिहरुले टिपाएको विवरण गलत रहेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम, नेपाल प्रहरीको केनाइन कुकुर शाखा कोहलपुरबाट तालिम प्राप्त कुकुर र दक्ष जनशक्ति परिचालन भएको थियो ।