आउदो आर्थिक बर्षदेखि दैलेख डुङ्गेश्वरमा मगर भाषाबाट कक्षा संचालन
आउदो आर्थिक बर्षदेखि दैलेख डुङ्गेश्वर गाउँपालिकामा मगर भाषाबाट कक्षा संचालन गरिने भएको छ । मगर भाषालाई संरक्षण गर्नको लागि सरस्वती मावि वइरीमा पठपाठन संचालन गरिने भएको हो ।
डुङ्गेश्वर गाउँपालिका वडा नम्बर ६ को सहयोगमा आदीबासी जनजाती महासंघ समन्वय समिति डुङ्गेश्वरले शुक्रबार आयोजना गरेको लिपी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर ६ का वडा अध्यक्ष बम बहादुर विसीले मगर भाषालाई पनि विद्यालयमा पठपाठन बनाउने घोषणा गर्नुभयो । उहाले नेपालका जातजाती मध्य मगर जाती एक गहणा भएको भन्दै मगर भाषा लोप हुन नदिन सरस्वती मावी वइरीमा पठनपाठन बनाउने बताउनुभयो । त्यस विद्यालयमा धेरैजसो मगर विद्यार्थीहरुको बाहुल्यता रहेको छ ।
उहाले मगरको संस्कृती भाषा पछिल्लो समय लोप हुदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
नेपाल सबै भाषाभाषि जातजातीले भरिपूर्ण रहेको भन्दै संस्कारको जगेर्ना बिना विकासको कल्पना गर्न नसकिने उल्लेख गर्नुभयो ।
मगर भाषा वइरीमा मात्र नभई अन्य विद्यालयमा पनि पठनपाठनको लागि आफुले गाउँ कार्यपालिकामा कुरा उठाउने उद्घोष समेत उहाले गर्नुभयो ।
कार्यक्रममा बोल्दै आदीबासी जनजाती महासंघका अध्यक्ष टेक बहादुर थापा मगरले जनजातीको हक हितको लागि कम्मर कसेर लाग्नुपर्ने बताउदै आफ्नो संस्कार नविर्सन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल मगर संघ कर्णाली प्रदेशका उपाध्यक्ष, नेपाल मगर दैलेखका अध्यक्ष लगायतले आफ्नो मन्तव्य राखेका थिए ।
कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधि, समाजसेवी, सरस्वती माविकाका प्रधानाध्यापक लगायतको सहभागिता रहेको डुङ्गेश्वर खेलकुद विकास समितिका अध्यक्ष गणेश शाहीले जानकारी दिनुभयो ।