डोल्पामा धर्म परिवर्तन गराएको अभियोगमा पास्टरलाई २ वर्ष जेल
काठमान्डौ – डोल्पामा धर्म परिवर्तन गराएको अभियोगमा पास्टरलाई अदालतले २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।
पोखरा चिप्लेढुंगास्थित प्रशस्त कटनी मण्डलका पाश्चर केशवराज आचार्यलाई जिल्ला न्यायाधीश केशवराज चपाईंको इजलासले सजाय सुनाएको हो ।
अदालतले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-२ का महिलालाई जबर्जस्ती धर्म परिवर्तन गराएको ठहर गर्दै २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना गरेको हो ।
गत वर्ष आचार्यले बिरामी भएका दुई महिलाको उपचार गर्ने भन्दै ‘प्रभु येशुको नाममा हटिजा’ भनेको भिडियो समाजिक संजालमा भाईरल बनेको थियो।
उनले ती महिलाहरुको फोटो भिडियो खिचेर प्रचार प्रसार गरेको भन्दै जिल्ला अदालत डोल्पामा मुद्दा परेको थियो ।
उनलाई मुलुकी फौजदारी संहिताको दफा १५८ को देहाय १, २ र ३ अनुसार अदालतले सजाय सुनाएको वैतनिक वकिल घनश्याम उपाध्यायले जानकारी दिए ।
आचार्यविरुद्ध जिल्ला अदालत कास्कीमा पनि धर्मपरिवर्तनसम्बन्धी मुद्दा विचाराधीन रहेको खुलेको छ ।