लमजुङको बेंसीसहरमा दिनदहाडै घरबाट सुन चोरी
असोज ११
लमजुङ – लमजुङको बेंसीसहरमा दिनदहाडै एक घरबाटसुन चोरी भएको छ । बेंसीसहर नगरपालिका,७, मा रहेको जनविकास मा.वि नजिकै शन्तबहादुर तामाङको घरबाट बिहीबार दिउँसो सुन चोरी भएको प्रहरीले जानकारी दिएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइँका अनुसार सन्तबहादुर र उनकी साली टिकामाया श्रेष्ठको गरी ८ तोला बढी सुन चोरी भएको प्रारम्भिक अनुमान छ ।
बिहीबार दिउँसो साढे ११ देखि २ बजेसम्मको अवधिमा सुन चोरी भएको हुन सक्ने उनले बताए । सन्तबहादुरको साली र छोरी कार्यालय गएको साथै दिउँसोको समय तीन तले घरको सबैभन्दा माथिल्लो तलामा सुत्न गएका बेला घरकै च्यानल गेटको चाबी फोडेर सुन चोरी भएको पीडितले बताए ।
माथिल्लो तलामा सुतेर दिउँसो दोस्रो तलामा आउँदा च्यानल गेट खुल्लै रहेको र ढोका साथै सुन रहेको दराज पनि खुल्लै देखेपछि मात्रै हारगुहार गरिएको उनले बताए । जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले सुन चोरी घटना अनुसन्धान र चोरीमा संलग्नको अनुसंधान भैरहेको बताए ।